Banner News

राष्ट्रियसभा सदस्य निर्वाचन आज, २ हजार ५६ मतदाता



काठमाडौँ, ९ माघ । राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा आज बिहानदेखि हुँदैछ ।

कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली मतदानस्थलमा पुगेर मतदान केन्द्र समेत निर्माण गरिसकेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

निर्वाचन आयोगका अनुसार मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदानका लागि बुधबार साँझसम्म पुगिसक्ने छन् ।

सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमश: मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष–उपाध्यक्ष, प्रमुख–उपप्रमुख एक हजार ५०६ समेत गरी दुई हजार ५६ मतदाता छन् । निर्वाचनमा छ राजनीतिक दलका ४५ उम्मेद्वार प्रतिस्पर्धामा छन् ।