समाचार

छाउगोठ पठाउने जेठाजुलाई ४५ दिन जेल



अछाम, १० माघ । महिनावारी हुँदा छाउगोठमा पठाएको भन्दै अछाम जिल्ला अदालतले बिहीबार साँफेबगर-३ का छत्र रावतलाई ४५ दिन जेल पठाउने फैसला गरेको छ ।

गत मंसिर १५ गते रावतकी बुहारी पार्वती रावतलाई महिनावारी हुँदा छाउगोठमा बसेकी थिइन् । चिसो छाउगोठमा बसेकी पार्वतीको मृत्यु भएपछि प्रहरीले छत्रलाई पक्राउ गरेको थियो। घरमा उनका सासु ससुरा र श्रीमान् नभएकाले पार्वतीलाई छाउगोठ पठाएको अभियोगमा प्रहरीले छत्रलाई पक्राउ गरेको हो ।

मुलुकी अपराध संहिताले सुत्केरी वा महिनावारी भएका महिलालाई छुवाछुत गर्न रोक लगाएको छ। अपराध संहिताको धारा १६८ को ३ बमोजिम छुवाछुत गर्ने र गराउने दुबैलाई कानुनी कारबाहीको व्यवस्था छ ।

सोही कानुनका आधारमा जिल्ला अदालतले छत्रलाई जेल पठाउने फैसला गरेको हो ।