Banner News

स्पेनका लागि नेपाली राजदूत शेर्पाद्वारा राजा फेलिपेसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत



काठमाडौँ, १२ माघ । स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पाले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन् ।

शुक्रबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् । उक्त समारोहमा राजा फेलिपेसँग नेपाल तथा स्पेनबीच द्विपक्षीय सम्बन्धका बारेमा छोटो वार्ता पनि गरेकी थिइन् ।

स्पेनका नरेशले राजदूत शेर्पालाई बधाई दिनुका साथै नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीप्रति शुभकामना व्यक्त गरेका थिए । उनले नेपालको अनौपचारिक भ्रमणको सम्झना गर्दै फेरि कुनै दिन नेपाल जाने आफ्नो इच्छा रहेको बताए । उनले राजदूत शेर्पाको सफल कार्यकालको कामना गर्दै वितेका वर्षहरुमा नेपाल तथा स्पेनबीच सम्बन्ध विस्तार हुँदै गएकोमा खुसी पनि व्यक्त गरे ।

सो अवसरमा राजदूत शेर्पाले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश सुनाएकी थिइन् । राजदूत शेर्पालले सुन्दर मुलुक स्पेनमा न्यानो स्वागत गरेकोमा धन्यवाद पनि दिइन् ।