समाचार

सूर्यविनायक नगरपालिका कटुन्जेमा सेवाग्राहीमैत्री, अत्याधुनिक भवन निर्माण गर्दै



भक्तपुर,१६ माघ । सूर्यविनायक नगरपालिकाले कटुन्जेमा अत्याधुनिक सेवाग्राहीमैत्री प्रशासनिक आफ्नै भवन निर्माण गर्ने भएको छ । आज एक समारोहका बीच मेयर बासुदेव थापाले कटुन्जेमा भवनको शिलान्यास गर्नुभयो ।

सो भवनको शिलान्यास गर्दै नगरपालिकाको अब बन्ने आफ्नै भवन सेवाग्राहीमैत्री बन्ने जानकारी गराउनु भयो । उहाँले नगरपालिकालाई व्यवस्थित बनाउन पहिले आफ्नै भवन बनाउनु पर्ने भएकाले आफू निर्वाचित भएदेखिनै नगरपालिकाको भवन निर्माणलाई पहिलो प्राथमिकता राखेकै कारण आज भावन निर्माणको शिलान्यास भएको वताउँदै उहाँले थप्नु भयो – उपत्यकाको यो नगरपालिका नयाँ भएर पनि आफ्नै भवन बनाउने कार्यमा उपत्यकाको सम्भवत पहिलो नगरपालिक हो ।

६ रोपनी ११ आना क्षेत्रफलमा निर्माण हुन लागेको भवनले ८८१० वर्गफिट क्षेत्रफल चर्चेको छ भने भवन साढे चारतलाको बन्ने भएको छ । १०० वटा गाढी अण्डरग्राण्ड र दुई तलामा पार्किङ क्षमता सहित निर्माण हुने सो भवन पूर्णसेवाग्राही मैत्री हुनका साथै २ वटा लिफ्ट समेत हुनेछ । २१० जना क्षमता भएको सभा हल र ८० जना क्षमता भएको बैठक हल र ४८ वटा कोठा क्षमताको निर्माण हुने भएको छ ।निर्माण अवधि २ वर्षको समयावधि लाग्ने सो भवनको कूल लागत २० करोड ४१ लाख रकम रहेको छ ।