काठमाडौँ, १८ माघ । प्रदेश २ मा छोरीहरु जन्मिँदै अब तीन लखिया हुने भएका छन् । प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गतको छोरी शिक्षा बीमाको रकम तीन लाख पुर्याएको छ ।
२०७५ माघ १ पछि प्रदेशका आठै जिल्लामा जन्मेका छोरीहरुको १ लाखको शिक्षा बिमा गर्ने घोषणा गरेको सरकारले सो रकमलाई अर्को वर्षमा तेब्बर बनाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले रकम बढाएर ३ लाख गर्ने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् । राउतले मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी बिमाको रकम बढाइएको जानकारी गराएका हुन् ।
सरकारको निर्णयको कार्यान्वयन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पर्सामा एक कार्यक्रममा बिमा योजना आरम्भ भएको थियो । कार्यक्रमअन्तरगत गत आर्थिक वर्षमा ४ हजार ३ सय ७३ नवजात छोरीहरुको बिमा भइसकेको छ । त्यसैगरी ३ हजार १ सय १८ नयाँ फर्महरु भरिएका छन् जसको सबै प्रकृया पूरा भएर बिमाको रकम पठाउन मात्र बाँकी रहेको छ ।
त्यसैगरी बिमा कार्यक्रम प्रभावकारी बनाउन स्थानीय तहमा सञ्चालित शिविरहरुमा पनि बिमा गरिएको थियो । हालसम्म करिब १५ हजार विमा गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । यसअघि बिमा गराइसकेका छोरीहरुले पनि बढाइएको रकमको सुविधा पाउने छन् । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्