Banner News

शिक्षक र पुस्तकलाई मात्र ज्ञानको केन्द्र हैन, प्रविधिको उपयोग गर्नुपर्छ : मन्त्री पोखरेल



काठमाडौँ, २० माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विगतमा शिक्षक र पुस्तकलाई ज्ञानको केन्द्र मानिने भएता पनि अबका दिनमा प्रविधिको विकाससँगै इन्टरनेटको माध्यमबाट ज्ञान आर्जन गर्दै शिक्षामा भरपुर मात्रामा प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

विश्व निकेतन माध्यमिक विद्यालय काठमाडौँको ७४औँ वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले शिक्षाले देशको समग्र विकासको खाका तयार पार्ने बताउँदै नयाँ–नयाँ प्रविधिको उपयोग गर्न नसके मुलुकले विकासमा फड्को मार्न नसक्ने औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले-पहिले शिक्षक र पुस्तकलाई ज्ञानको केन्द्र मानिन्थ्यो । प्रविधिको विकाससँगै अहिलेका विद्यार्थीले इन्टरनेटको प्रयोगले आफँै पनि धेरै सिक्न थालेका छन् ।”

सामुदायिक विद्यालयमा सिकाइ केन्द्रीत सुधारको आवश्यकता रहेकामा उहाँले जोड दिँदै दक्षिण एशियाको पुरानो भाषाका रुपमा रहेको नेपाली भाषालाई बलियो बनाउँदै अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिन नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अङ्ग्रेजी मात्र होइन, चिनियाँलगायतका अन्य भाषाको सिकाइ र प्रयोग गर्दै जानुपर्छ । अङ्ग्रेजी भाषाको प्रयोग बढ्दै जाँदा नेपाली भाषा कमजोर बन्दै जाने सम्भावना बढेर गएको छ ।”