विश्व

कोरोना भाइरसबाट ३६१ को मृत्यु, नयाँ अस्पतालमा चिनियाँ आर्मीका १४ सय स्वास्थ्यकर्मी खटिए



एजेन्सी, २० माघ । नोबल कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएको चीनको वुहानमा बिरामीको उपचारका लागि हप्ता दिनमै १ हजार शैयाको अस्पताल चीनले निर्माण गरेको हो ।

चीनका अधिकारीहरूका अनुसार वुहानमा आइतबार निर्माण सम्पन्न भएको अस्पताल सोमबारदेखि नै सञ्चालनमा आउन लागेकाे हाे । सो अस्पतालमा चिनियाँ आर्मीका १४ सय स्वास्थ्यकर्मी खटिएका छन् ।

चीनमा हालसम्म ३६१ जनाको मृत्यु भएको पुष्टि भएको छ । चीनबाहिर नेपालसहितका देशमा गरी १ सय ५० जना भन्दा बढी संक्रमित भएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य संगठनले सोमबार दिएको जानकारी अनुसार २१ हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ । यस्तै एक लाख ५२ हजार ७०० जना स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । ४ सय ७५ जना भने निको भएर अस्पतालबाट बिदा भएका छन् ।