राजनीति

‘ग्रेटर लुम्बिनी’को विकास हुन्छ : मन्त्री भट्टराई



बुटवल, २२ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको मात्र नभइ यससँग सम्बन्धित तिलौराकोट र रामग्रामलाई जोडेर ‘ग्रेटर लुम्बिनी’को विकास गरिने बताउनुभएको छ ।

बृहत्तर लुम्बिनी क्षेत्रका विषयमा मंगलबार लुम्बिनीमा आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले ‘ग्रेटर लुम्बिनी’को विकासका निम्ति अब प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवाला निकाय सबैसँग छलफल गरिने बताउनुभयो ।

‘मायादेवी मन्दिर क्षेत्र, रामग्राम, तिलौराकोट र लुम्बिनीलाई समेटेर अव बृहत्तर लुम्बिनीका रूपमा विकास गरिने छ,’ मन्त्री भट्टराईले भन्नुभयो, ‘बृहत्तर लुम्बिनीको विकास गर्दा बहुसांस्कृतिक पक्षलाई ध्यानमा राखेर काम गरिनेछ ।’

मन्त्री भट्टराईले मायादेवी मन्दिर क्षेत्रको विकासले मात्रै लुम्बिनीको बृहत्तर विकास हुन नसक्ने बताउँदै देवदह, सैनामैना, तिलौराकोटलगायतका क्षेत्रहरुलाई पनि एक अर्कासँग जोड्नुपर्ने बताउँदै घुम्न आउने विदेशी पर्यटक वा अध्ययनका लागि आउने विद्यार्थीहरुलाई एक साता यहाँ बिताउन सक्ने वातावरण बनाउनेतर्फ सबैको ध्यान जानुपर्नेमा दिनुभयो ।

लुम्बिनीको बृहत्तर विकासका लागि सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेको पनि मन्त्री भट्टराईले बताउनुभयो । मन्त्री भट्टराईले भन्नुभयो, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई प्राथमिकतामा राख्नुको कारण बृहत्तर लुम्बिनीको विकासका लागि नै हो । अब विमानस्थल सञ्चालनमा आएसंगै लुम्बिनीमा पर्यटक आगमनले पनि फड्को मार्छ ।’