राजनीति

कोरोना भाइरसले भ्रमण वर्षमा ठेस लाग्यो : अध्यक्ष दाहाल



पोखरा, २२ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल पर्यटन भ्रमण वर्षलाई कोरना भाइरसले ठेस पुर्‍याएको बताएका छन् ।

पोखरामा पर्वतारोहण संघले गरेको शान्ति पूजाको उद्घाटन गर्दै अध्यक्ष दाहालले उत्साह, उच्च आकांक्षा लिएर नेपाल पर्यटन भ्रमण वर्ष मनाइरहेको अवस्थामा कोरनाले ठेस पुर्‍याएको बताएका हुन् ।

उनले भने, ‘कोरोना भाइरसले ठेस पक्कै पनि लागेको छ । तुरुन्तै नियन्त्रणमा आउँछ । चीन सरकारले चामत्कारिक हिसाबले अस्पताल बनाउने र भ्याक्सिन पत्ता लगाउने प्रक्रिया अगाडि बढाइसकेको छन्, ‘नेपालमा कोरना भाइरसको संक्रमण देखिएको छैन । नेपाल सरकारले उद्धारको पहलकदमी लिइसकेको छ । त्रसित हुनुपर्ने अवस्था छैन । चीनमा पनि छिट्टै नियन्त्रण हुन्छ ।’

पोखरा नेपालभरिकै पर्यटन विकास स्थल रहेको बताउदै उनले भने, ‘पूर्वाधार विकासमा मेरो ध्यान छ । मैले सधैं भन्ने गरेको छु, यहाँका खोलानाला भीरपाखा, पखेरा जहाँ जन्मेर हुर्केको त्यसप्रतिको तगाब र मोह अर्कै हुँदो रहेछ, ‘हिजोमात्रै पनि काहुँ डाँडा पुगेर त्यहाँको धरहराबाट पूरै पोखरा हेरें । मलाई विशेष माया छ ।’