काठमाडौँ, २४ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको घोषणा र जनताले गरेको अनुभूतिबीच ठूलो विरोधाभास रहेको उल्लेख गर्दै आफूले माथिबाट गरेको घोषणा र तल पिँधमा जनताले गरेको महसुसको बीचमा ‘कन्ट्राडिक्सन’ रहेको बताउनुभएको छ ।
राष्ट्रिय उद्योग व्यवसायी महासंघले शुक्रबार गरेको कार्यक्रममा बोल्दै उहाँले वर्तमान नेतृत्वल राम्रो काम गरेको भनेर ठानेको भएकता पनि जनताले त्यस्तो महशुस गर्न नसकेको बताउनुभयो । जनताले महसुस नगर्दासम्म हामीले राम्रो गर्यौं भन्नुको औचित्य पुष्टि नहुने भन्दै उहाँले भन्नुभयो, ‘जनताले अर्कै महसुस गरिरहेको छ । हामीमाथि निकै राम्रो गरेका छौं भन्ठानेका छौं । हाम्रो नियत खराब छैन होला, हामीले राम्रो गर्न खोज्यौं होला, तर राम्रो गर्न खोज्नु एउटा कुरा हो । राज्यको हैसियतले जनताले त्यो कुरा महसुस गर्नु अर्को कुरा हो ।’
सरकारले यस्ता विषयमा निर्ममतापूर्वक आत्मचिन्तन र आत्मसमीक्षा गर्नुपर्ने बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामीले भन्न त भनेका छौं भ्रष्टाचार गर्दैनौं र गर्न पनि दिँदैनौं, यो घोषणा आफैंमा राम्रो कुरा हुँदै हो । तर राज्यको समग्र व्यवहारमा स्थानीय तहदेखि संघसम्म भ्रष्टाचार रोकिन थालेको छ भन्ने अनुभूति जनताले गरे कि गरेनन् भन्यो भने ग्राफचाहिँ राम्रो आउँदैन ।’
नाकाबन्दीविरुद्धको संघर्षमा जनताले भोकभोकै पनि साथ दिएको भन्दै प्रचण्डले अहिले बेस्सरी गर्यौं भनेका बेलामा जताततै निराशा देखिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘अहिले बेस्सरी गर्यौं भनेका छौं तर जताततै निराशा छ भने यहाँ केही चिज ठीक भइराख्या छैन भन्ने देखाउँछ ।’
वरिपरि बस्ने र भक्ति गाउनेहरुबाट नेताहरुसमेत खतरामा रहेको भन्दै अध्यक्ष प्रचण्डले धर्ती छोड्ने र आकाशमा पुग्ने खतरा नेतामा झन् बढी हुने टिप्पणी गर्नुभयो । आउने दुईरतीन वर्ष राम्रो काम गर्न नसकेमा जनताले कम्युनिस्ट पार्टी भन्दैमा भोट नदिने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘जनतालाई कम्युनिस्ट र कांग्रेस त्यतिधेरै मतलब हुँदैन भन्ने देख्यौं नि त हामीले, जनताले जसलाई पनि उखेलेर फालिदिन्छ । कम्युनिस्ट साइनबोर्ड र संविधानमा लेखिएको नाराले हामीलाई बचाउँदैन, हाम्रो व्यवहारले बचाउने हो ।’










प्रतिक्रिया दिनुहोस्