Banner News

सूनपाको अर्धवार्षिक आम्दानी ८२ करोड ९५ लाख



भक्तपुर, २७ माघ । रमेश गिरी । सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तसम्म रु ८२ करोड ९५ लाख ५८ हजार ९९४ आम्दानी गरेको छ ।

नगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अर्धवार्षिक समिक्षाको जानकारी गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कूल रु १ अर्व ३० करोडको बजेट स्वीकृत गरेको नगरपालिकाले स्वीकृत वार्षिक बजेटको ६३ दशमलव ८१ प्रतिशत लक्ष्य हासिल गरेको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।

उहाँले आम्दानी तर्फ आन्तरिक आयको हिस्सा ६६ प्रतिशत र वाह्य आयको ३४ प्रतिशत बताउनुभयो । वाँकी ६ महिनाको अवधिमा लक्ष्यको तुलनामा थप ३६ दशमलव १९ प्रतिशत अर्थात रु ४७ करोड ४ लाख १० हजार ५८ आय प्राप्त गर्ने लक्ष्य पुरा गर्ने बताउनुभयो ।

२०७६ पुस १५ गतेसम्म चालु र पूँजीगत खर्चका लागि मूल सञ्चित कोषबाट चालु खातामा रु १८ करोड ५७ लाख ५२ हजार र पूँजीगत खातामा रु १५ करोड गरी जम्मा रु ३३ करोड ५७ लाख ५२ हजार रकम सारिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले पुस मसान्तसम्म रु ४९ करोड ३८ लाख ३७ हजार ९४१ र पैसा ६० सञ्चित गरेको नगर प्रमुख थापाले बताउनुभयो ।

त्यस्तै पूँजीगत खर्च रु १२ करोड ८५ लाख ९४ हजार ५७८ र शिक्षकको तलवभत्ता, स्वास्थ्य तर्फ कर्मचारीहरुको तलव भत्ता, संघीय सरकार र प्रदेश सरकारको अनुदानको चालु खर्च रु १६ करोड ०६ लाख ११ हजार २४६ र सामाजिक सुरक्षा वापत रु ३ करोड ७१ लाख खर्च भएको छ ।

कूल खर्च रु ३२ करोड ६३ लाख ०५ हजार ८२४ भएको र प्रथम छ महिनामा लक्ष्यको तुलनामा ६४ प्रतिशत आम्दानी भएको र खर्चभने २५ प्रतिशत मात्रै भएको र दोश्रो चौमासिक भित्र थप रु ५० करोड वरावर खर्च हुने बताउनुभयो ।

स्वीकृत कूल पूँजीगत बजेट रु ६९ करोड २० लाखका सबै योजनाहरु उपभोक्ता समिति तथा ठेक्का प्रक्रियामा कार्य भई रहेको जानकारी दिदै उहाँले योजनाहरुको संख्या ४२५ बटा रहेका छन् । कार्यक्रममा नगरपालिकाका उपप्रमुख जुना बस्नेतले समृद्ध नगरपालिका बनाउन जनप्रतिनिधी र कर्मचारी सक्रिय रहेको बताउनुभयो ।

त्यसअवसरमा नेकपाका जिल्ला अध्यक्ष बचन देउजा, नेपाली काँग्रेसका जिल्ला सचिव निशान ढुङ्गेल, गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाई, क्रियासिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी लगायतले नगरपालिकाले गरेको भौतिक पूर्वाधार विकासको चर्चा गर्दै समय मै काम सक्नु पर्नेमा सुझाब दिनुभयो ।