काठमाडौँ, २ फागुन । नेपाल–भारतका प्रतिनिधि मात्र सहभागी गराउने शर्तमा गृहमन्त्रालयले सप्तरीमा हुन लागेको मुसलमान समुदायको धार्मिक सम्मेलनका लागि अनुमति दिएको छ । मुसलमान समुदायले सप्तरीको बोदे बसाइन नगरपालिकाको जाँजरमा धार्मिक सभा गर्न लागेका हुन् ।
धार्मिकसभाका लागि नेपाल र भारतबाट विभिन्न व्यक्तिहरु सहभागी हुनेगरी अनुमति मागिएपनि अन्य तेस्रो देशबाट समेत सहभागी हुने सूचना पाएपछि कार्यक्रममा रोक लगाउनुपरेको गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो ।
हिजो मात्र गृहमन्त्रालयले तेस्रो देशबाट समेत प्रतिनिधि सहभागी भएको जानकारी पाएकाले कार्यक्रम रोकिएको बताएको थियो । तर, कार्यक्रम आयोजकले शर्त मानेपछि गृहले अनुमति दिएको छ । प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।
हिजो अपरान्ह ४ बजेबाट नेपाल–भारतका सीमा समेत बन्द गरिएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिकामा भोलिदेखि ५ गतेसम्म धार्मिक सभा आयोजना हुने कार्यक्रम छ । यसका लागि सबै तयारी पूरा भएको आयोजकले बताएका छन् । कार्यक्रमका लागि करिब २ करोड खर्च भइसकेको आयोजकले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्