काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरु माथि केवल आफ्ना अभिभावकहरुको मात्रै आशा र सपना निहित नभई प्रध्यापक, नातेदार, समाज र राष्ट्रको पनि सपना र आशा रहेको उल्लेख गर्नुभएको छ ।
राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीहरुलाई शुक्रबार ललिपुरमा दर्ज्यानी चिन्ह प्रदान गदैं प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणमा युवाहरुमा राष्ट्रप्रति समर्पित र अनुशासित युवाको आवश्यकता र प्राथमिकता रहेको बताउनुभयो ।
समाज र राष्ट्र निर्माणमा युवाहरुलाई ध्यान केन्द्रित गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘तपाईंहरु माथि केवल आफ्ना अभिभावकहरुको मात्रै आशा र सपना निहित छैन, तपाईंका प्रध्यापक, नातेदार, समाज र राष्ट्रको पनि सपना र आशा रहेको छ । त्यसैले सर्वोत्कृष्ट समाज निर्माणमा युवा अवस्थामा तपाईहरुले आफ्नो मनोबल उच्च गराउन आवश्यक छ । हरेक युवाले आफूमा कुशल नेतृत्व क्षमताको विकास नैतिक आचरण र अनुशासनको परिपालना निश्चित गर्दै समाज र राष्ट्रप्रतिको आफ्नो कर्तव्य बुझ्ने र पूरा गर्ने कर्तव्यनिष्ठ नागरिक बन्न ध्यान केन्द्रित गर्दछु ।’
प्रधानमन्त्री ओलीले भन्नुभयो, “तालिमबाट एकअर्काको भावना, संस्कृति, परम्परा र इतिहास बुझ्ने अवसर प्राप्त भएको छ, अनुशासित र राष्ट्रप्रति समर्पित युवा उत्पादन राष्ट्रको आवश्यकता र प्राथमिकताका कार्यक्रम हुन् । युवाको चौतर्फी व्यक्तित्व विकासमा सरकार हरसम्भव सहयोग गर्न प्रतिबद्ध छ ।” राष्ट्रको गौरवको रूपमा रहेको चन्द्र–सूर्य अङ्कित राष्ट्रिय झण्डालाई अनुशासित भई शिरोपर गर्नसक्ने युवाको राष्ट्रलाई सधैँ खाँचो रहने बताउदै उहाँले युवालाई अध्ययन, रोजगारी र व्यक्तित्व विकास गर्न सरकारले अनुकूल वातावरण बनाउने प्रयास अघि बढाइरहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न सरकार दृढताका साथ क्रियाशील छ, युवाबाट यो सङ्कल्प र साझा आकाङ्क्षा पूरा गर्न आ–आफनो स्थानबाट सक्रिय र सिर्जनशील ढङ्गले योगदान होस् । युवाले चाहेको खण्डमा जस्तासुकै चुनौतीको सहजै सामना गरेर अघि बढन सक्छन् ।” मुलुकमा उपलब्ध प्राकृतिक सम्पदा तथा दक्ष र सबल जनशक्तिको सही सदुपयोगबाट मात्र राष्ट्र निर्माण हुनसक्छ भन्दै उहाँले त्यसका लागि सरकारले आफ्ना कामलाई योजनाबद्ध ढङ्गले अघि बढाइरहेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार निर्माण भएको र यस सरकारले युवाहरुको चौतर्फी व्यक्तित्व विकासमा सहयोग गर्न कटिबद्ध रहेको बताउँदै युवाहरु एकजुट भइ काम गरे जस्तोसुकै चुनौती सामना गर्न सक्ने उल्लेख गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्