स्याङ्जा, फागुन २ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनताको सपना पुरा गर्ने कुनै पनि प्रकारका योजना तथा त्यसका लागि काम गर्ने तत्परता देखाएमा आर्थिक रुपले कुनै पनि समस्या उत्पन्न हुन नदिने उद्घोष गर्नुभएको छ ।
जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आयोजना गरेको विकास सम्बन्धि छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले योजना माग गर्ने तर रकम खर्चै नहुने कुरा दुखद रहेको बताउनुभयो । समयमै योजना सम्पन्न गर्ने सन्दर्भमा कर्मचारीले मात्र रकम खर्च गरेनन भन्दा पनि जनप्रतिनिधिहरुले कति सहजिकरण गर्ने भन्ने कुरा पनि महत्वपुर्ण हुने बताउनुभयो ।
काम गर्नका निम्ति तत्परता देखाएमा बजेटको कुनै समस्या नहुने बताऊदै उहाँले भन्नुभयो,’ ‘काम गर्ने तत्परता देखाउनुस, पैसाको व्यवस्था म गर्छु । स्याङ्जाको विकास गर्ने हो भने प्राथमिकताका आधारमा राजनीतिक सहमति गरेर जाऊँ । के गर्दा काममा गति दिन सकिन्छ ध्यान दिऊँ । योजना नपरेको होइन, काम नभएको हो । अहिलेसम्मका ठेकेदारी प्रकृयामा नै समस्या छ । क्षमता नै नभएकोले एक भन्दा बढी योजना होल्ड गरेर किन राख्ने ? सोचनीय विषय हो कि होइन ?’
एक वर्षभित्रमा सम्झौता कार्यान्वयन नगरेमा सिधै सम्झौता खारेज गर्नेगरी खरिद ऐन संशोधन भएको भन्दै उहाँले योजना लिएर सम्पर्कबिहिन ठेकेदारको समस्या अव समाधान हुने बताउनुभयो । अब विकास निर्माणको कार्यान्वयमा देखिएको उदासिनता त्यागेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
परिवर्तनको अनुभूति गराउने हात कर्मचारीहरुको हातमा भएको भन्दै उहाँले कर्मचारीको जिम्मेवारी निर्वाह गर्दै मेरो पालामा नयाँ के काम गर्ने भन्ने योजना बनाएर अगाडि बढ्न कर्मचारीलाई निर्देशन पनि दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्