अर्थ

विश्व अर्थतन्त्रमा ‘कोरोना कहर’



काठमाडौँ, ३ फागुन । नोभेल कोरोना भाइरसको संक्रमण फैलँदै जाँदा विश्व अर्थतन्त्रको विस्तार कमजोर हुने देखिएको छ । वस्तु निर्यातको जगमा फैलिएको चिनियाँ अर्थतन्त्रमा यो महामारी ठूलो अभिशाप देखिएको छ । मानवीय क्षति त छँदै छ, अर्थतन्त्र पनि चौपट हुने संकेत देखापर्न थालेको छ ।

महामारीको समाधान नभए विश्वभर सवारीसाधन उत्पादन बन्द हुन सक्छ । वस्तु उत्पादनमा चिनियाँ कच्चा वस्तु उपभोग गर्ने र चीनमै उद्योग राखेर वस्तु उत्पादन गर्ने क्रमले पछिल्लो दशकमा व्यापकता पाएको छ ।

चीन तथा त्यहाँको उत्पादन प्रणाली (मूल्य शृंखला) मा आबद्ध अन्य देशका उद्योग, व्यवसायमा पनि समस्या देखिन थालेको छ । वुहानमात्र नभएर चीनका अरू आर्थिक केन्द्र पनि सुनसान छन् ।

सवारीसाधन निर्माणमा चीनबाट कच्चा पदार्थ आपूर्तिको विकल्प उत्पादकहरूसँग छैन । ९० प्रतिशतभन्दा बढी पार्टस् आपूर्ति चीनबाटै हुन्छ । चीनबाट पार्टस् प्राप्त गर्न नसकेपछि जापानको कार निर्माता कम्पनी निसानले जापानको फ्याक्ट्री अल्पकालका लागि बन्द गरेको छ । त्यहाँबाट सेरेना र एक्स–ट्रेल मोडलका गाडी उत्पादन हुँदै आएका थिए ।

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले चिनियाँ पार्टस् अभावमा गत साता फ्याक्ट्री बन्द गरेको छ । विश्वका सबैजसो कार निर्माता कम्पनीमा यस्तै समस्याका कारण उत्पादन प्रभावित भएको छ ।

चीनबाट वस्तु आपूर्ति ठप्प भएपछि विश्व बजारमा गार्मेन्ट्सका आपूर्ति शृंखला प्रभावित भएको छ । औषधिदेखि ग्याजेटसम्मको पार्टस्का लागि उत्पादकहरू चीनमा निर्भर छन्। चीन विश्वभर आपूर्ति प्रणालीको केन्द्रमा छ । चीनबिनाको उत्पादन र व्यापार प्रणाली कल्पनाबाहिर हुन्छ भन्ने अस्थायी परिस्थितिलाई लिन सकिन्छ । कोरोना भाइरसको उद्गम चीनको अर्थतन्त्र भने यसपटक नराम्ररी प्रभावित हुने निश्चित छ । यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।