काठमाडौँ, ४ फागुन । बलियो सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिपक्षबाट समेत अनुकूल स्थिति खडा भएको छ ।
संसद् र सडकमा बलियो प्रतिपक्षको सामना उनले गर्नुपरेन । बरु, बेलाबखत सत्ता र प्रतिपक्षको भूमिका आफ्नै दलबाट झल्कन्थ्यो । त्यस्तो बेला प्रतिपक्ष काँग्रेसलाई खोज्न ऊ बसेको प्रतिपक्षी बेन्चतिर हेर्नुपर्ने स्थिति खडा भयो । खासगरी भ्रष्टाचार र अनियमितता मुद्दामा काँग्रेसको भुमिका सदन र सडक दुवै मोर्चामा कमजोर देखियो । सरकारमाथि निगरानी बढाउन भनेर काँग्रेसले छाया सरकारसमेत बनायो तर छाया सरकार गठनमै सीमित भयो ।
काँग्रेसभित्रै सदन र सडकलाई प्रभावकारी बनाउन नसकेको आरोप देउवाले दुई वर्षदेखि खेप्दै आएका छन् । नागरिक समाज र काँग्रेस निकट बुद्धिजिवीहरुले बारम्बार प्रश्न उठाउँदै आएका छन् । देउवा समूहका नेताहरु त्यसको बचाउमा छन् । आरोपको प्रतिवाद गर्छन् तर काँग्रेसका संस्थापनइतर पक्षीय नेताहरुले सडक र पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा यो मुद्दा निरन्तर उठाउँदै आएका छन् । तैपनि पार्टी सभापति समेत रहेका संसदीय दलका नेता देउवाको भूमिकामा भने यो दुई वर्षमा कुनै बदलाव देखिएन । बाह्य जगत र सामाजिक रुपमा उठ्ने टीकाटिप्पणी र प्रश्नले उनलाई छुँदैन तर यसको असर पार्टी संगठनमा भने परेको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्