Banner News

गुणस्तरीय र व्यवहारिक शिक्षा अहिलेको आवश्यकता : अध्यक्ष तिम्सीना



काठमाडौँ, ४ फागुन । राष्ट्रियसभा अध्यक्ष गणेश तिम्सीनाले शैक्षिक चेतनाबाट मात्र विकास सम्भव हुने भन्दै गुणस्तरीय र व्यवहारिक शिक्षा अहिलेको आवश्यकता भएको औंल्याउनुभएको छ ।

नेपाली विद्यार्थीलाई छात्रबृत्ति दिन नेपालस्थित पाकिस्तानी दूतावासले शनिबार काठमाडौँमा गरेको कार्यक्रममा अध्यक्ष तिम्सीनाले पाकिस्तान सरकारबाट नेपालका ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक विकासका लागि प्रदान गरिएको छात्रबृत्तिले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिमा निर्वाह गरेको उल्लेख गर्नुभयो ।

संस्कारयुक्त राजनीतिबाट मात्र परिवर्तन सम्भव हुने बताउँदै उहाँले परिवर्तन संस्थागत गर्न सबै राजनीतिक दल एक हुनुपर्ने बताउनुभयो ।

नेपालका लागि पाकिस्तानका राजदुत डाक्टर मजहर जावेदले शिक्षाबाट बञ्चित बालबालिकाको शैक्षिक जागरणको लागि पाकिस्तान सरकारले निरन्तर सहयोग गरेको बताउँदै आगामी वर्षदेखि छात्रबृत्तिको संख्यालाई दोब्बर बनाउने जानकारी दिनुभयो ।

पाकिस्तानले विभिन्न दुर्गम क्षेत्रका विभिन्न विद्यालयका ५ सय विद्यार्थीलाई विगत आठ वर्षदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।