Banner News

नेपालको एक इन्च पनि भूमि छाड्दैनौँ : उपप्रधानमन्त्री पोखरेल



दार्जुला, ५ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालको मिचिएको भूमि अरूलाई एक इन्च पनि नछाड्ने उद्घोष गर्नुभएको छ ।

दार्चुला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६ को उद्घाटन गर्दै पछिल्लो समय कालापानी लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा राखेपछि नेपाल सरकारले कूटनीति पहल थालेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो भूमि न अरूलाई एक इन्च छोड्छौ, न अरूको एक इन्च जमीन माग्छौँ, हाम्रो नेपालको भूमि मिच्न कदापि दिँदैनौँ । भूमि अतिक्रमण सह्य हुँदैन, सहदैनौँ ।”

केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले पहिलोपटक भारतसँग सीमाका विषयमा कूटनीति नोट लेखेको भन्दै उहाँले भन्नुभयो, “विवादित भूमि फिर्ता गराएरै छाड्छौँ ।” नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा नेपालका सबै राजनीतिक दलको साझा एजेन्डा रहेको उल्लेख गर्नुभयो ।