काठमाडौँ, ६ फागुन । विशेष घटना र सन्दर्भका कारण विवाद तथा चर्चामा रहेका प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरा र उपसभामुख शिवमाया तुम्बाहाम्फेले एकैदिन सफाइ र पद प्राप्त गर्नुभएको छ । बलात्कारको प्रयास गरेको भनी आरोप लागेका महरालाई काठमाडौं जिल्ला अदालतले सोमबार सफाइ दिएको छ भने सरकारले तुम्बाहाम्फेलाई कानुनमन्त्री बनाएको छ ।
न्यायाधीश अम्बरराज पौडेलको इजलासले सरकारले लगाएको आरोप दाबी पुग्न नसक्ने उल्लेख गर्दै पूर्वसभामुख महरालाई सफाइ दिएको हो । संसद् सचिवालयकी एक कर्मचारीलाई यौन दुव्र्यवहार गर्न खोजेको आरोप लागेपछि महरालाई गत असोज १९ गते पक्राउ गरी हिरासतमा राखिएको थियो । सो आरोप लागेपछि महराले भने सभामुख पदबाट सोही महिनाको १४ गते नै राजीनामा दिनुभएको थियो ।
अदालतले सफाइ दिएपछि महरा सोमबार नै डिल्लीबजार कारागारबाट रिहा हुनुभएको छ । अदालतबाट सफाइ पाएको पत्र पाएपछि कारागारले उहाँलाई रिहा गरेको हो। उहाँ १ सय ११ दिन कारागार बस्नुभएको थियो ।
सरकारले मुद्दा दायर गरेपछि काठमाडौं जिल्ला अदालतले तारेखमा छुटाउन अस्वीकार गरेको थियो । आफूलाई तारेखमा रिहा गर्न अस्वीकार गरेपछि उहाँ त्यसविरुद्ध उच्च अदालत पाटन जानुभएको थियो । सो अदालतले पनि उहाँलाई तारेखमा रिहा गर्न अस्वीकार ग¥यो । काठमाडौं जिल्ला अदालतमा भएको अन्तिम बहसमा भने उहाँमाथिको आरोप पुष्टि हुन नसकेको भन्दै सफाइ दिइएको छ ।
काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले पीडित भनिएकी महिलाले अदालतमा वकपत्र गर्दा महराले आफूलाई जबरजस्ती गर्न नखोजेको भनी उल्लेख गरेकीले महरालाई सफाइ दिएको जानकारी दिनुभयो ।
यसै गरी फरेन्सिक रिपोर्टको आधारबाट पनि महरा निर्दोष देखिएको भनी प्रारम्भिक फैसलामा उल्लेख भएको स्रेस्तेदार श्रेष्ठले बताउनुभयो । फरेन्सिक परीक्षण गर्दा महराको औंठाछाप नभिडेको भनी उल्लेख भएको बताइएको छ ।
यसै गरी पीडित भनिएकी महिलाले आरोप लागेको दिन महरा आफ्नो कोठामा नआएको भनी कागज गर्नुभएको थियो । महराले पनि आफू त्यहाँ नगएको बयानमा उल्लेख गर्नुभएको थियो । महरा गत असोज १३ गते ती महिलाको कोठमा गएको आरोप लागेको थियो ।
जिल्ला अदालत र उच्च अदालत, पाटनले महरालाई थुनामा राख्दा रोशनीको कोठाबाट हतार–हतार निस्कदा जुत्ताको तलुवा छुटेको, घटनास्थलमा भेटिएको चस्माको सिसा र महराले लगाएको चस्माको सिसाको पावर एउटै भएको लगायतका प्रमाणलाई आधार बनाएको थियो । नेपाल कम्युनिस्ट पाटी (नेकपा) ले बलात्कारको आरोप लागेपछि महरालाई सांसद पदबाट पनि राजीनामा दिन दबाब दिएको थियो । तर, उहाँले सभामुखबाट मात्र राजीनामा दिनुभएको थियो । अदालतबाट सफाइ पाएपछि उहाँ अब प्रतिनिधि सभामा अन्य सदस्यजस्तै उहाँले भाग लिन पाउनुहुनेछ। सरकारले भने महरालाई सफाइ दिने जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिने सम्बद्ध स्रोतले जनाएकाे छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्