Banner News

सरकारले लिपुलेक–लिम्पिलियाधुरा सम्मिलित नेपालको नयाँ नक्सा जारी गर्छ : अध्यक्ष प्रचण्ड



काठमाडौँ, ७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिपुलेक, लिम्पियाधुरा, कालापानीका बारेमा भारतीय सरकारलाई लिखित जानकारी गराइसकिएको र अब सरकारले लिपुलेक, लिम्पिलियाधुरा सम्मिलित नेपालको नयाँ नक्सा जारी गर्ने बताउनुभएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार भएको प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै उहाँले मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि असर नपर्ने गरी कुनै पनि राजनीति तथा कुटनीतिक कार्यहरु अघि बढ्ने बताउनुभयो ।

विश्वमा कम्युनिष्ट शक्तिहरु कमजोर भइरहेको बेला नेपालमा बलियो भएर आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पार्टीले नेपालको राजनीतिक मानचित्र बदलेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘दुवै पार्टीको एकताबाट एक असाधारण र ऐतिहासिक काम भएको छ । यसले नेपालको राजनीतिक मानचित्र बदलेको छ ।’

नेपालको कम्युनिष्टहरुलाई कमजोर पार्न अर्बौको लगानी भइरहेको खुलासा गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘समय पाए यसबारे फेहरिस्त भन्न सकिन्छ । कम्युनिष्ट एकता आजको प्रयासले मात्र नभई विभिन्न ऐतिहासिक कालखण्डदेखिको बहस, छलफल, द्वन्द्ववादी, भौतिकवादी आवश्यकताका आधारमा भएको हो ।’

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधव नेपाल, नेकपा महासचिव विष्णु पौडेल, नेकपा स्थायी समिति सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्माले, सहइन्चार्ज यामलाल कँडेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।