काठमाडौँ, ८ फागुन । सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका कर्मचारीलाई अश्लील शब्दले गाली गर्दै दलालसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएको छ ।
सञ्चारमन्त्री बास्कोटाले स्वीस कम्पनी केबीए नोटासिसका नेपाल प्रतिनिधि (एजेन्ट) विजयप्रकाश मिश्र शर्मासँग कमिसनबारे छलफल गरेको अडियो सार्वजनिक भएको हो । अडियोमा स्वीस एम्बेसी आउने भन्दै एजन्टले मन्त्रीसँग समय मिलाउन भनेका छन् । मन्त्री बास्कोटाले ‘नर्मलमा ५० आउँछ ?’ भनेर सोधेका छन् ।
समान्य तवरबाट काम गर्दा थोरै कमिसन आउने भएकाले मिश्रले ‘आउट अफ ट्रयाक’बाट जान मन्त्रीलाई सुझाएका छन् । यो प्रक्रियाबाट कुल ७० देखि ७४ करोड कमिसन आउने र त्यसको ७० प्रतिशत मन्त्रीलाई मिल्ने मिश्रले मन्त्रीलाई बुझाएका छन् । ५४–५५ करोड मन्त्रीको हात पर्ने मिश्रले बताएका छन् ।
मन्त्रीले अडियोमा एजेन्ट (मिश्र)लाई कति प्रतिशत आउँछ त भनर समेत सोधेको पनि सुनिन्छ । मिश्रले ३० प्रतिशत आफूलाई आउने र त्यो एकदम पारदर्शी हुने बताएका छन् । मिश्रले १५–१६ करोड आफूलाई आउने बताएका छन् । मन्त्री बास्कोटाले अडियोमा २५ देखि २७ अर्बको परियोजना बनाउन लागेको बताएको सुनिन्छ । एजेन्ट मिश्रले पनि परियोजना जतिको बन्छ त्यसकै आधारमा प्रतिशत निर्धारण हुने बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्