Banner News

शरीरमा तार र ब्याट्री जडान गरेर पनि जनताका सपना पूरा गर्छु : प्रम ओली



काठमाडौँ, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शरीरमा तार र व्याट्री जडान गरेर भए पनि जनताका सपना पूरा गर्ने बताएका छन ।

आज झापाको दमकदेखि पाँचथरको रवी जोड्ने दमक चिसोपानी रवि सडक कालोपत्रे शिलन्यास पछि आयोजित सभामा बोल्दै प्रधानमन्त्री ओलिले आफू पटकपटक शरीर चिरेर पनि बाँचेको बताए । चार पटकसम्म आफ्नो शरीर चिरेको मिर्गौला फेरेको लगायतका कारण आफूलाई रोगले च्यापे पनि आफू नथाक्ने र बरु शरीरभित्रै तार र व्याट्री जडान गरेर भए पनि जनताका सपना पूरा गर्ने बताएका हुन ।

उनले कोही नागरिक सुकुम्बासी भए सरकारले जग्गा दिने तर सरकारी जमिन हडप्न नदिने बताएका छन् । सरकारी तथा सार्वजनिक जमिन व्यक्तिको नाममा पार्ने प्रवृति वि’रुद्ध पहिलो पटक सरकारले कदम चालेको भन्दै उनले यसमा संलग्न कसैले पनि छुट नपाउने बताएका हुन् ।

संवोधनका क्रममा ओलीले विकास र समृद्धि नचाहने शक्तिले सरकारलाई चारैतिरबाट कमजोर बनाउन षड्यन्त्र गरि रहेको भन्दै त्यस्ता चलखेल विरुद्ध वर्तमान सरकार निर्धक्कका साथ जुधिरहेको दावी गरे । उनले भने, चिच्याउनेहरू, कराउनेहरू मनपरी बोल्न पाउनु पर्‍यो भनिरहेका छन् । तर, सरकार त्यसो गर्न दिँदैन किन भने सरकार समृद्ध र अनुशासित लोकतन्त्रका पक्षमा छ, छाडातन्त्रका पक्षमा होइन ।’

उनले पञ्चायत, तानाशाहा, राजतन्त्र लगायतका शक्तिसँगै अनेक रोगसँग समेत एकसाथ लड्दै आए पनि आफू नथाकेको र लड्नु पर्ने क्रम अझै नरोकिएको उनको भनाइ थियो ।