समाचार

बलात्कार अभियोगमा पक्राउ परे मन्त्रीकै सल्लाहकार



काठमाडौँ, १५ फागुन । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घलेलाई किशोरी बलात्कार अभियोगमा पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ५२ वर्षीय घलेलाई १४ दिन अघि पक्राउ गरेर जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको हो । बलात्कार अभियोगमा पक्राउ परेका घलेले शक्तिको आडमा प्रहरीलाई दबाब दिन खोजे पनि उनीमाथि म्याद थप गरेर कारवाही अघि बढाइएको हो ।

किशोरीलाई घलेले माघ २७ गतेदेखि फागुन १ गतेसम्म फ्ल्याटमा बन्धक बनाएर बलात्कार गरेको खुलेको छ । घलेलाई १४ दिनअघि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध शरीर बन्धक तथा बलात्कार केसमा अदालतबाट जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले भन्नुभयो, ‘किशोरीले आफूलाई घलेकै घरको कोठामा बन्धक बनाएर बलात्कार गरेको उजुरी दिइसकेकी छन् । उनको स्वास्थ्य जाँचसहितको प्रक्रिया पूरा गरिसकेका छौं ।’

प्रहरीका अनुसार ती किशोरी काभ्रेको बनेपाबाट काठमाडौँ आउन बस पर्खिरहेका बेला घले गाडी लिएर आएका थिए । त्यही क्रममा ती किशोरीलाई लिफ्ट दिएर ल्याएपछि घरमै बन्धक बनाएको बताइएको छ । किशोरीले प्रहरीमा दिएको उजुरीमा घलेले आफूलाई घरैमा बन्धक बनाएर बलात्कार गरेको जनाएकी छन् ।

टोखास्थित एक घरमा फ्ल्याट भाडामा लिएर एक्लै बस्दै आएका घलेका परिवार अमेरिकामा रहेको प्रहरीले जनाएको छ । डिएसपी बोगटीका अनुसार घलेले १२ कक्षामा अध्ययनरत ती किशोरीलाई अमेरिका पठाइदिने लोभ देखाएर बलात्कार गरेको खुलेको छ ।

चार दिनसम्म बन्धक बनेकी किशोरीले फागुन १ गते एकजना आफन्तलाई घटनाबारे खबर गरेकी थिइन् । आफूले प्रयोग गर्ने मोबाइलबाट खबर गरेकी उनलाई त्यही आधारमा प्रहरीले पत्ता लगाएर घलेको फ्ल्याबाट निकालेको थियो ।