काठमाडौँ, १७ फागुन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले एक सय दिनको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।
प्रगति विवरणमा काठमाडौँ उपत्यकाका करिब २७ किलोमिटर सडकमा कालोपत्रे गर्ने कामसमेत सम्पन्न भएको छ । यसलाई पनि मन्त्री नेम्वाङले गौरव गर्न लायक काम भनेर उल्लेख गर्नुभएको छ ।
सडकका खाल्डाखुल्डी पुरेको विषयलाई ‘विशेष उपलब्धीपूर्ण’ भनेर पहिलो नम्बरमा राखिएको छ । मन्त्री नेम्वाङका अनुसार सडक विभागअन्तर्गत रहेका सडकहरुमा ९ हजार ५ सय वटा खाल्डाखुल्डी पुरिएको छ । मन्त्री नेम्वाङले कोटेश्वरको जाम कम गराउन दीर्घकालिन र अल्पकालिन विकल्पमा काम शुरु गरिएको बताउनु भएको छ ।
१७ वटा चोकहरुमा ट्राफिक लाइट बालिएको, बल्खु, महालक्ष्मीस्थान र बानेश्वरमा आकाशे पुल निर्माण थालिएको, कलंकी-महाराजगञ्ज सडक बिस्तारको काम थालिएकोलगायतका विषयलाई प्रगति विवरणमा समेटिएको छ ।
त्यस्तै झापको दमक हुँदै पाँचथर जाने सडक, पाँचथरको राँकेदेखी रवी जाने सडक, भक्तपुरदेखी नगरकोट जाने सडक, चावहिल जोपाटी सडक, मदनभण्डारी राजमार्ग, हुलाकी राजमार्ग, नागढुङ्गा मुग्लीन सडकलगायतका सडकहरुमा भइरहेको उल्लेख कार्यलाई आफ्नो प्रगतिको रुपमा राखिएको छ ।
‘१०० दिनको कार्यकालको अधिकांश समय हिउँदको समय भएकाले चिसोको कारण उल्लेखनीय मात्रामा कालोपत्रेको कार्य हुन नसके तापनि प्राप्त भएको प्रतिफलमा गौरव गर्न मिल्ने अवस्था छ,’ प्रगति विवरणमा लेखिएको छ ।
यसै आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौँ उपत्यकामा थप ८५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्यसहित काम भइरहेको मन्त्री नेम्वाङले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार १५ सय वटा रुग्ण आयोजनाको म्याद विनासर्त एक वर्ष थप गरिएको छ ।
लामो समसयम्म जनताले प्रत्यक्ष रुपमा समस्या भोगीरहनुपरेको स्मार्ट लाइसेन्सको मास प्रिन्ट मेसिनको प्रयोग गरी तिव्र गतिका साथ लाइसेन्स प्रीन्टको शुरुवात गर्दै आगामी दिनहरुमा तत्काल लाइसेन्सको व्यवस्था गर्ने प्रकृया अघि बढेकोलगायतलाई प्रगतिको पथको रुपमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्