सम्पादकीय

संवेदनशील केन्द्रमा प्रत्यक्ष भिडियो निगरानी



काठमाडौं, १७ चैत । निर्वाचन आयोगले सुरक्षाको दृष्टिले संवेदनशील मानिएका मतदान केन्द्रमा प्रत्यक्ष भिडियो निगरानी (लाइभ स्ट्रिमिङ) गर्ने भएको छ ।

आगामी ३१ वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचन तयारीमा जुटिरहेको आयोगले सुरक्षा दृष्टिले संवेदनशील मानिएका मतदान केन्द्रको भिडियो देखिने गरी लाइभ स्ट्रिमिङ गर्ने र त्यसलाई जिल्ला सदरमुकाम तथा केन्द्रबाट निरीक्षण गरिने प्रस्ट पारेको हो ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आम मतदातालाई भयरहित वातावरणमा मतदान गर्न यस्तो व्यवस्था गर्ने तयारीमा आयोग जुटेको जानकारी दिए । ‘स्वतन्त्र तथा भयरहित वातावरणमा मतदान गर्न पाउनु मतदाताको अधिकार हो । हामी त्यसका लागि सुरक्षा प्रबन्धमा जुटेका छौं ।

यसपटक सुरक्षा संवेदनशील मानिएका मतदान केन्द्रमा केन्द्रबाटै हामी लाइभ स्ट्रिमिङ गर्छौं,’ प्रमुख निर्वाचन आयुक्त यादवले भने । आयोगले यसपटक विशेष प्रविधिको प्रयोग गरेर मतदातामा सुरक्षा विश्वसनीयता बढाउन लाइभ स्ट्रिमिङको रणनीति अपनाउन लागेको हो ।

स्थानीय मतदान केन्द्रबाट गरिने त्यस्तो भिडियो लाइभ स्ट्रिमिङले जिल्ला सदरमुकामस्थित कार्यालय हुँदै निर्वाचन आयोगको केन्द्रीय कार्यालयलाई जोड्नेछ । अर्थात्, जुन केन्द्र संवेदनशील मानिएको छ, सो केन्द्रको अवस्था सिधै केन्द्रमा प्रत्यक्ष जानकारीमा रहनेछ । तर, सो प्रविधिबाट हुने भिडियो सार्वजनिक रूपमा भने हेर्न पाइनेछैन ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले आयोगले तोक्ने संवेदनशील निर्वाचन केन्द्रहरूबाट त्यस्तो प्रकारको विशेष निगरानीको व्यवस्था हुने बताए ।
‘निर्वाचन आयोगले त्यसको टुंगो लगाउँछ, आयोगले तोकेका केन्द्रबाट यस किसिमको निगरानी हुनेछ,’ मैनालीले भने ।राजधानी दैनिकमा समाचार छ ।