राजनीति

प्रम ओलीले मिर्गौला प्रत्यारोपण नेपालमा नै गर्नुले जनतामा उत्साह छायो : सांसद बस्नेत



भक्तपुर, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो पटक गरिने लागेको मिर्गौला प्रत्यारोपण नेपालमा नै गर्न शुरु गर्नुले स्थास्थ्य क्षेत्रमा आशाको किरणको  साथै जनतामा उत्साह छाएको बताउनुभएको छ ।

भक्तपुर अस्पतालद्वारा आयोजित ‘मुख्यमन्त्री जनता स्वास्थ परिक्षणको’ उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नतले नेतामा विदेशमा गएर उपचार गर्ने कुराको जनताद्वारा वारम्वार आलोचना भइरहेको समयमा प्रधानन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्टमा नै उपचार सम्भव छ भनेर ऐतिहासिक निर्णय लिनुभएको उल्लेख गर्नुभयो । आफ्नो आमाको समेत उपचार सोही अस्पतालमा गराएको स्मरण गर्दै प्रधानमन्त्री ओलीलाई सफल उपचारको शुभकामना समेत व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीको भोलि ९ बजे पुनः मिर्गौलमा प्रत्यारोपण गरिने भएको छ । आज डायलासिस गर्नुका साथै अरु चेकजाँच भइसकेको र सबै रिपोर्ट सामान्य आएको साथै भोलि विहान ९ बजे प्रत्यारोपण सुरु हुने प्राध्यापक डा. अरुण सायमीले जानकारी दिनुभएको छ । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार नै अस्पताल हुनुभएको छ  । उहालाई नाताले भान्जी पर्ने युवतीले मिर्गौला दिने हुने भएको छ ।

अन्य नाम चलेका विदेशी अस्पताल जस्तै नेपालका सरकारी अस्पतालहरु अन्तर्राष्ट्रिय स्तरमा नै पहिचान स्थापना गर्न सफल भएको उल्लेख गर्दै उहाँले भक्तपुर अस्पतालले आफ्नो व्यवस्थापनलाई व्यवस्थित गरि मुलुकका आम नागरिकले उपचारको सहजता प्रदान गर्ने अस्पतालको रुपमा विकासित तथा परिस्कृत गर्न आवश्यकता रहेको औल्याउनुभयो ।

भक्तपुर अस्पतालमा भएका विकृति र विसंगतिलाई हटाउन आफ्नो पूर्ण समर्थन रहने प्रतिवद्धता व्यक्त गर्दै उहाँले अस्पतालमा विगतमा समस्याको समाधान गर्ने नभई वहानामा प्रस्तुत हुने गरेको बताउनुभयो । अस्पतालमा रहेक समस्या समाधान लिएर आएकाले विवादलाई समाधान गर्नु नेतृत्वको मूख्य जिम्मेवारी रहेको औल्याउँदै उहाँले अस्पतालमा समन्वयको अभावका कारण समस्या उत्पन्न भएको बताउनुभयो ।