काठमाडौँ, २३ फागुन । कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न मास्कको माग बढेसँगै कालोबजारी सुरु भएको छ । मास्कको कालोबजारीका कारण पोखरा र नेपालगन्जका बजारमा अस्वाभाविक मूल्य तिर्नुपरेको गुनासो उपभोक्ताले गरेका छन् ।
माग बढेसँगै औषधि पसलेले अस्वाभाविक मूल्य बढाएर बेच्न थालेका हुन् । कृत्रिम अभाव सिर्जना गरी महँगोमा मास्क बेचेर रातारात पैसा कमाउने व्यापारीको समूह यस धन्दामा लागेको छ ।
कास्की प्रशासनले बिहीबार पोखरामा गरेको बजार अनुगमनका क्रममा अस्वाभाविक मूल्य लिएर मास्क बिक्री गरिएको फेलापरेको छ । अस्वाभाविक मूल्यमा मास्क बेच्ने औषधि पसल सञ्चालकलाई कारबही गर्ने प्रशासनले जनाएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार अनुगमन टोलीले पोखराको अस्पतालचोकस्थित परी फार्मेसी, महेन्द्रपुलस्थित स्याङ्जा मेडिकल हल र पस्र्याङस्थित अतिश मेडिकल फर्मामा छापा मारेको थियो ।
अनुगमनका क्रममा ती औषधि पसलले १० रुपैयाँ मूल्य पर्ने मास्कलाई ३० र ८० रुपैयाँ पर्ने मास्कलाई चार सय ५० मा बिक्री गरेको पाइएको टोलीका एक सदस्यले बताए । ‘अधिक मूल्य असुल्ने तीनवटै मेडिकल पसललाई शुक्रबार प्रशासनमा हाजिर हुन निर्देशन दिएका छौं,’ ढकालले भने, ‘कालोबजार ऐनअनुसार ती मेडिकल सञ्चालकलाई कारबाही हुन्छ ।’ अनुगमन टोलीले ती पसल बन्द गराएको छ । यो समाचार आजको नागरिकमा छ ।










प्रतिक्रिया दिनुहोस्