राजनीति

कतारले लगायाे १४ मुलुकका नागरिकलाई अस्थायी प्रतिबन्ध



काठमाडौँ, २७ फागुन । श्रम स्वीकृति जारी संख्याका आधारमा चालु आर्थिक वर्षमा नेपालीको सबैभन्दा ठूलो गन्तव्य मुलुक मानिएको कतारले नेपालीलाई त्यहाँ जान प्रतिबन्ध लगाएको छ । कतारको सञ्चार मन्त्रालयले सोमबार सूचना जारी गर्दै कोरोना विषाणुको त्रासका कारण नेपाललगायत १४ मुलुकका नागरिकलाई अस्थायी रूपमा त्यहाँ जान प्रतिबन्ध लगाएको हो । कतार सरकारले नेपाली कामदारलाई प्रतिबन्ध लगाएको सूचना त्यहाँस्थित नेपाली दूताबासमार्फत प्राप्त भइसकेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका महानिर्देशक कुमार दाहालले कतारस्थित नेपाली दूताबासबाट प्रतिबन्ध लगाइएको सूचना प्राप्त भएकाले पुनः अर्को सूचना नआउँदासम्म श्रम स्वीकृति जारी नहुने बताए । ‘हामीले नरोके पनि गन्तव्य मुलुकले प्रतिबन्ध लगाएपछि अब कतारमा नेपाली कामदार जान सक्दैनन्,’ उनले भने ।

कोरोना त्रासका कारण वैदेशिक रोजगारीमा जानेको संख्या करिब ७५ प्रतिशतले गिरावट आएका बेला कतार सरकारको उक्त निर्णयले यो संख्या झनै घट्ने अनुमान गरिएको छ ।

यसअघि कुबेतले पनि नेपाली कामदारलाई प्रतिबन्ध लगाइसकेको छ । त्यस्तै दक्षिण कोरियाको हकमा भने विभागले हवाई उडान तालिकालाई एक महिना पछि सारेको छ । महानिर्देशक दाहालले कोरियाको हवाई उडान मार्चपछि हुनेगरी कार्यतालिका फेरबदल गरिएको बताए । फागुन १८ देखि कोरियामा हवाई उडान हुन सकेको छैन । सोही मितिमा ६५ युवा कोरिया उड्ने तयारीमा थिए ।

कोरोनाको त्रास फैलिएसँगै विभिन्न गन्तव्य मुलुकले नेपाली कामदारलाई प्रतिबन्ध लगाउने क्रम बढेपछि अर्थतन्त्रमा गम्भीर असर पर्ने खतरा देखिएको छ । आर्थिक वर्ष ०७५/७६ मा आठ खर्ब ७९ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो । सोही वर्ष कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा रेमिटेन्सको हिस्सा २४.४ प्रतिशत थियो। चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा चार खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो खबर आजको नागरिक दैनिकमा छ ।