Banner News

कोरोनाबारे आफै डाक्टर नबनौँ, खाद्यन्न तथा पेट्रोलियम पदार्थ स्टक छ : मन्त्री खतिवडा



काठमाडौँ, २७ फागुन । अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कोरोना भाइरसबारे भयभित हुनेगरी नगर्न र स्वास्थ्य मन्त्रालयबाट प्रवाह हुने सूचनालाई नै आधिकारिक ठान्न पनि आग्रह गर्दै हामी आफै डाक्टर बन्नु नहुने बताउनुभएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समिति र निजी व्यवासायीहरुबीचको छलफलपछि अर्थमन्त्री युवराज खतिवडाले कोरोना भाइरस संक्रमणपछि भारतले नेपाल आयात हुने वस्तुमा लगाएको रोकावट फुकाउन सरकारले कुटनीतिक पहल गर्ने जानकारी उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिला भन्सार विन्दुमा आएका वस्तुहरु छुटाउने, दोस्रो कुटनीतिक तहमा वार्ता गरेर आवश्यकीय वस्तुहरु अभाव हुन नदिने अनुरोध गर्नेछ । ‘हामी सबै आफै डाक्टर नबनौँ, हामी जान्ने हुँदा स्थिति भयावह हुन सक्छ । जुन अहिले आवश्यक छैन । संयमले काम गर्नुपर्छ । त्यसका लागि स्वास्थ्य र सूचना प्रविधि मन्त्रालयले निजी क्षेत्रसँग सहकार्य गर्छ ।’

कोरोनाविरुद्ध लड्न निजी र सरकारी क्षेत्रबीच सहकार्य प्रभावकारी ढङ्गले अघि बढाउने भन्दै भारतले रोकावट गरेका औषधीजन्य वस्तु खुलाउन प्रयास गर्ने निर्णय भएको जानकारी दिँदै उहाँले सरकारले कोरोना त्रासपछि उपभोक्ताहरुले आफूलाई चाहिने भन्दा बढी बस्तु सञ्चय गर्ने गरेकाले समेत समस्या भएको भन्दै त्यस्ता वस्तुहरु अनावाश्यक सञ्चय नगर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

छलफलमा औषधी व्यवसायीहरुले ५ महिनासम्म, खाद्यन्न ६ महिना, पेट्रोलियम पदार्थ ३ महिनालाई पुग्ने स्टक रहेको भन्दै यसका लागि सरकारले वजार अनुगमन सक्रिय पार्ने सहमति भएको छ ।