समाचार

गालाको ट्युमरको जटिल शल्यक्रियापछि अलीमले पाए नँया जीवन



ललितपुर, २८ फागुन । गएकोे फागुन २१ गते बुधबार त्रिविवि शिक्षण स्पतालमा प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गाैला प्रत्यारोपण हुँदै थियो ।

सोही समयमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरमा महोत्तरीका ४० वर्षिय विपन्न अलिम कवाडीको दायाँ गालामा पलाएको ५ किलो २०० ग्राम तौलको ट्युमर भएको भाग काटेर निकाल्ने जटिल शल्यक्रिया हुँदै थियो ।

प्रधानमन्त्री ओलीको उपचारको सबै खर्च नेपाल सरकारले वेहोर्ने भएकोले उनलाई उपचार खर्चको कुनै तनाव थिएन । तर उता उपचार खर्चकै अभावमा विगत ५ वर्षदेखि गालामा पलाएको ट्युमरको शल्यक्रिया गर्न नपाएर कवाडी जीवन मरणको दोसाँधमा थिए ।

कवाडीको उपचारको लागि सहयोगी चन्दादाताहरुले पाँचसयदेखि २१ हजार रुपैयाँसम्म आर्थिक सहयोग गरेर उनको जीवन बचाउन सहयोग गरिरहेका थिए । उपचारको लागि सहयोगी हातहरु, नेपाल क्यान्सर सहयोग समूहकी अध्यक्ष एवम् अस्पतालका निर्देशक स्वरुपा श्रेष्ठले उनको उपचारको लागि आवश्यक पर्ने औषधिलगायतको लागि खर्च जुटाउँदै थिइन भने पत्रकार बलराम प्यासीको अगुवाईमा जापानको तोयोहाशी बस्ने छाँयावस्ती, छालिङ्ग भक्तपुरकी लक्ष्मी थापाले २१ हजार रुपैयाँ सहयोग उपलव्ध गराएकी थिइन् ।

यसैगरि नेपाल क्यान्सर हस्पिटल व्यवस्थापनले कवाडीको शल्यक्रिया निःशुल्क गर्ने व्यवस्था मिलाएको थियो भने विशेषज्ञ चिकित्सक र सर्जनहरु कवाडीको शल्यक्रिया गर्न निकै ठुलो जोखिम उठाउँदै थिए ।

यता प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण सफल भईसक्दा उता झण्डै १५ जना चिकित्सक, सर्जन, प्लाष्टिक सर्जरी गर्ने चिकित्सक लगायतको टोली विहान १० वजेदेखि लगातार १२ घण्टा लामो शल्यक्रियामा जुटिरहेका थिए ।

क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठको सहयोगमा सो अस्पतालको नाक, कान, घाँटी क्यान्सर विभागका प्रमुख डा.प्रभातचन्द्र ठाकुरको नेतृत्वमा सो विभागका अर्का चिकित्सक प्रवीण जयसवालसहितको चिकित्सक टोलीले उक्त जटिल शल्यक्रिया गर्ने आँट गरेको थियो ।

चिकित्सक टोलीले ३ घण्टा लगाएर ट्युमर भएको भाग काटेर झिकेको थियो भने वरिष्ठ प्लाष्टिक सर्जन डा.सुरेन्द्र बस्नेत र डा.कृष्ण नगरकोटी सहितको टोलीले ट्युमर काटेर झिकेको भागमा तिघ्राको मासु काटेर जोडेर प्लाष्टिक सर्जरी गरेको थियो । यसअघि एनेस्थेसियन डा.आभा प्रसाई, डा.दिपक अधिकारी र डा.सुनिता मलेकुले विरामीलाई वेहोसी पार्ने पाटो सफलतापुर्वक सम्हालेका थिए ।

‘झण्डै २० इन्च लम्वाई, एक फिट चौडाई र ५ किलो २०० ग्रामको ट्युमर भएको गालाको मासु काटेर फ्याँकी त्यसमा प्लाष्टिक सर्जरी गर्ने काम सहज थिएन’—कवाडीको जटिल शल्यक्रियाको नेतृत्व गरेका वरिष्ठ सर्जन डा. ठाकुरले भने—‘अरु अस्पतालले आँट नगरेको शल्यक्रिया र प्लाष्टिक सर्जरी हामीले सफलतापूर्वक सम्पन्न गर्यौं ।’ विरामीको अवस्था अहिले निकै राम्रो र सुधारोन्मुख रहेको उल्लेख गर्दै डा.ठाकुरले विरामीलाई अहिले पोष्ट अपरेटिभ वार्डमा राखिएको बताए ।

विरामी कवाडीमा थोरै व्यक्तिमा हड्डीबाट लाग्ने ‘लो ग्रेडको ओस्टेओ सार्काेमा’ भएको र उनको गालाको मासुको टुक्रा बायोप्सीको लागि पठाइएको डा.ठाकुरले बताए । बायोप्सीको रिपोर्ट आएपछि कस्तो क्यान्सर हो या ट्युमरमात्रै हो पत्ता लाग्ने बताउँदै उनले भने—‘धन्न यो शरीरको अन्य भागमा नसर्ने खालको भएर शल्यक्रिया सफल भयो ।’ डा. ठाकुरका अनुसार यसप्रकारको शल्यक्रिया गर्न भारतमा भए ५ देखि ६ लाख भारतीय रुपैयाँ लाग्नसक्थ्यो । तर नेपालमा २ लाख ८० हजारमै शल्यक्रिया सम्पन्न भयो ।

विरामी कवाडीको गालाको सफल शल्यक्रियापछिको अवस्थाबारे जानकारी दिन नेपाल क्यान्सर अस्पतालले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले नेपालमै सबैप्रकारका क्यान्सरको उपचार हुने भएतापनि पनि विपन्न क्यान्सररोगीले उपचारको लागि हात फैलाउनुपर्ने वाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिए ।

अस्पतालकी निर्देशक एवम् उपचारका लागि सहयोगी हातहरुकी अध्यक्ष स्वरुपा श्रेष्ठले उपचारको लागि आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यसप्रकारको जटिल शल्यक्रियाको सफलतापछि धेरै विरामीमा क्यान्सरको उपचार नेपालमै गर्नुपर्छ भन्ने भावना जागेको उल्लेख गरीन ।

बागमती प्रदेशकी सांसद एवम् इन्जिनियर श्रीमती समाजकी पुर्व अध्यक्ष विजया श्रेष्ठ केसीले समाजमा विपन्न क्यान्सर उपचार कोष खडा गरेको र सोही कोषमार्फत सदस्यहरुले उपचारको लागि सहयोग संकलन गरेको बताइन् । समाजबाट संकलित १ लाख ३ हजार ५०५ रुपैयाँ सांसद केसीले उपचारको लागि सहयोगी हातहरुकी अध्यक्ष स्वरुपा श्रेष्ठलाई हस्तान्तरण गरीन् । कार्यक्रममा समाजकी अध्यक्ष दुर्गा कुँवर लगायतका पदाधिकारीहरुको पनि उपस्थिति थियो ।