Banner News

राष्ट्रपति भण्डारी र नेकपाका अध्यक्ष दाहालबीच भेटवार्ता



काठमाडौँ, २९ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ ।

बुधबार शीतलनिवास पुग्नुभएका दाहालले राष्ट्रपतिसँग करिब एक घण्टा छलफल गर्नुभएको हो । राष्ट्रपति भण्डारी र अध्यक्ष दाहालबीच प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य, कोरोना भाइरसको सम्भावित प्रकोप र नेकपामा देखिएको विवादबारे छलफल भएको बताइएको छ ।

अध्यक्ष दाहालले राष्ट्रपतिसँग गरेको छलफललाई अर्थपूर्ण मानिए पनि शीतल निवास स्रोतले भने ‘नियमित’ भनेको छ । नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने पार्टी सचिवालयको निर्णयले विवाद बढेका बेला दाहालले राष्ट्रपति भण्डारीसँग भेट्नु भएको हो ।

राष्ट्रपति भण्डारीलाई नेकपाको शक्ति सन्तुलनमा चासो देखाउने गरेको आरोप लाग्दै आएको छ । प्रधानमन्त्री ओली अस्पतालमै हुँदा सचिवालयको बैठक बोलाउन दबाब खेप्दै आउनु भएका अध्यक्ष दाहालले राष्ट्रपतिलाई पार्टीको भन्दा देशको पछिल्लो परिस्थितिबारे जानकारी गराए पनि नेकपाको विवादबारे पनि छलफल भएको बताइएको छ ।