एजेन्सी, २९ फागुन । रुसको संसद्ले देशको संविधान संशोधन प्रस्तावलाई स्वीकृति दिएसँगै राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल अरु १२ वर्ष थप्न बाटो खुलेको छ ।
सैन्य क्षमतामा विश्वको दोस्रो शक्तिशाली देश रुसको यो संविधान संशोधन प्रस्ताव विश्वको दोस्रो आर्थिक महाशक्ति देश चीनमा सी जिन्पिङ जीवनभरका लागि राष्ट्रपति बन्नका लागि भएको प्रस्ताव जस्तै देखिन्छ । रुसमा पुटिनको कार्यकाल लम्बिनु भनेको अमेरिकामाथि दबाब बढ्ने निश्चित छ ।
रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको दोस्रो कार्यकाल सन् २०२४ मा पूरा हुँदैछ । रुसको संवैधानिक व्यवस्थाका अनुसार एक व्यक्ति धेरैमा दुई कार्यकालका लागि राष्ट्रपति बन्न सक्छ ।
यो प्रस्तावको समर्थनमा ३८३ मत खस्दा विपक्षमा एक मत पनि खसेन । ४३ जना सदस्यले मतदानमा भाग लिएनन् भने २४ सदस्य सदनको कारबाहीमा अनुपस्थित रहे ।
यसको केही घण्टापछि एक सय ७० सदस्य रहेको उच्च सदन फेडरल काउन्सिलले पनि यो प्रस्ताव पारित गर्यो । यो प्रस्तावको समर्थनमा एक सय ६० मत खस्दा विपक्षमा एक मत पनि खसेन । तीन जना सदस्यले मतदानमा भाग लिएनन् ।










प्रतिक्रिया दिनुहोस्