एजेन्सी, २९ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस कोभिड-१९ को सङ्क्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका निम्ति रोक लगाएका छन् ।
बीबीसीका अनुसार केहीबेर अघि टेलिभिजन सम्बोधनमार्फत उनले घोषणा गरेको नियम ब्रिटेनको हकमा भने लागु हुने छैन । उता, इटलीमा कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न किराना र औषधीबाहेक सबै पसलहरू बन्द गर्ने घोषणा गरिएको छ ।
युरोपको सबैभन्दा कडा प्रतिबन्धहरू घोषणा गरिएको उक्त देशमा सङ्क्रमितहरू र मृतकको सङ्ख्या निरन्तर बढ्दै गएपछि त्यस्तो निर्णय लिइएको हो । टेलिभिजनमा सम्बोधन गर्दै प्रधानमन्त्री कोन्टेले त्यो प्रतिबन्ध बिहीवारदेखि २५ मार्चसम्म लागु हुने बताए । सामान घरमै पुर्याउन भने रोकिने छैन ।
इटलीमा १२ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने ८२७ जनाले ज्यान गुमाएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का आपतकालीन प्रमुख मिसेल रियनका अनुसार इटलीमा करिब नौ सयजना सङ्क्रमितहरू सघन उपचार कक्षमा भर्ना गरिएका छन् ।
डब्ल्युएचओका प्रमुख टेड्रस एड्हानोम गेहब्रेयससले दुई सातामा चीन बाहिर सङ्क्रमण १३ गुणा बढेको बताए ।










प्रतिक्रिया दिनुहोस्