काठमाडौँ, १ चैत । सरकारद्धारा आव २०७५/७६ मा घोषित १ सय पर्यटकीय गन्तव्यका लागि दोस्रो किस्ताबापत दिइने रकमका लागि शुक्रबार (फागुन ३० गते) सम्मको समय सुविधा दिइएको छ । पर्यटकीय गन्तव्य क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणका लागि छनोट भएका पर्यटकीय गन्तव्यअन्तर्गतका स्थानिय तहले माग फारम बुझाउनुपर्ने म्याद दिएकले प्रथम किस्ताबापत गत भदौ २४ गतेको निर्णयबमोजिम सम्बन्धित स्थानीय तहमा पुस २५ गते मार्गदर्शनसहित बजेट उपलब्ध गराएको थियो । सम्बन्धित स्थानीय तहले प्रथम किस्ताबापत प्राप्त बजेटको काम सम्पन्न गरि दोस्रो किस्ताका लागि रकम माग गर्न मन्त्रालयले माघ २६ गते सूचना प्रकाशित गरी रकम मागका लागि निवेदन आह्वान गरेको मन्त्रालयअन्तर्गत प्रशासन तथा योजना महाशाखाका शाखा अधिकृत जयराम उप्रेतीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
प्रथम किस्तावापत प्राप्त बजेट कतिपय स्थानीय तहले तोकिएको क्षेत्रमा काम गर्न चुकेका छन् । काम गरेका स्थानीय तहले दोस्रो किस्ताका लागि आवश्यक कागजातसहित सम्बन्धित मन्त्रालयमा पेस गरेका छन् ।
जिल्लाको फक्ताङलुङ गाउँपालिकास्थित कञ्चनजंघा बेसक्याम्पका लागि प्रथम किस्ता वापत ४० लाख उपलब्ध भएको थियो । उक्त रकमको काम जारी रहेको र दोस्रो किस्ताका लागि रकम माग गरिएको गाउँपालिका अध्यक्ष सरोज एभेङले जानकारी दिए ।
दोस्रो किस्ताका लागि ४० लाख रुपैयाँ माग गरिएको छ । अध्यक्ष एभेङले भने, “३(४ ठाउँमा पैदल मार्ग बनायाैं । सबै काम चैतसम्ममा सम्पन्न गर्छौ ।” कात्तिकदेखि फागुनसम्म हिउँ पर्ने भएकाले बेसक्याम्प क्षेत्रमा काम गर्न ढिलाइ भएको हो । हिउँदयाममा जाडो र हिउँको समस्या तथा स्थानीयवासी जाडो छल्न बेसी झर्ने भएकाले काम गर्न समस्या भएको हो ।
यसैगरी मिक्वाखोला गाउँपालिकास्थित फुङफुङे झरनाका लागि दोस्रो किस्ताबापत २५ लाख उपलब्ध गराउने मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख गरिएको छ । यद्यपि प्रथम किस्ताबापत प्राप्त २५ लाख रुपैयाँको कुनै काम नै भएको छैन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र गुरुङका अनुसार दोस्रो किस्ताका बारेमा पालिकामा पर्याप्त छलफल भएको छैन ।
प्रमुख प्रशासकीय अधिकृत गुरुङले भने, “प्रथम किस्ताबापत प्राप्त २५ लाख रुपैयाँको काम हुन बाँकी छ । सायद चाँडो गरी गर्छौं ।” उता सिदिङ्मा गाउँपालिकाका उपप्रमुख जीवन ताम्लिङले दोस्रो किस्ताका लागि छलफल गरेर आवश्यक कागजात पेस गर्ने बताए । उपप्रमुख ताम्लिङले भने, “दोस्रो किस्ता माग भएको सूचना थाहा छैन ।
अब सम्भव भएसम्म कागजात जुटाएर पेस गर्छौं ।” गाउँपालिका–१ स्थित कालीखोला र पाँचथरको च्याङ्थापुसँग जोडिएको तिम्बुङ पोखरीका लागि गत वर्ष ५० लाख विनियोजन गरेको थियो । उक्त रकम खर्चिएर १ हजार ५ सय मिटर पैदल मार्ग, मन्दिर जीर्णोद्धार तथा आवास गृह निर्माण गरेको थियो । यो समाचार आजको कारोबार दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्