काठमाडौँ, ९ चैत । राजधानीमा आइतबारदेखि ग्यासको अतिरिक्त बिक्री केन्द्र (आउटलेट) सञ्चालन हुँदै छ । नेपाल आयल निगमले एलपी ग्यास उद्योग संघको सहकार्यमा निम्न र मध्यम वर्गलाई राहत दिने उद्देश्यले अतिरिक्त बिक्री केन्द्र राख्न लागेको हो। २२ वटा ग्यास उद्योगले बिहान १० देखि ५ बजेसम्म ग्यास वितरण गर्नेछन् ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार कोरोना भाइरसको हल्लासँगै उपत्यकामा बसोबास गर्ने उच्च मध्यम वर्ग र उच्च वर्गले अत्यधिक संख्यामा खाना पकाउने ग्यासको सञ्चित गरेका छन् । यसले गर्दा निम्न वर्ग, अति निम्न वर्ग र मध्यम वर्ग समयमा सिलिन्डर पाउन सास्ती व्यहोर्न बाध्य छन् ।
‘हामीले मागभन्दा दोब्बर परिमाण ग्यास आपूर्ति गरिरहेका छौं । त्यही परिमाणमा उद्योगबाट सिलिन्डर पनि बजारमा गइरहेका छन् । तर निम्न वर्गले सहज रूपमा सिलिन्डर पाउन सकेका छैनन्,’ पौडेलले भने, ‘तिनलाई लक्षित गरी संघको सहकार्यमा अवस्था सामान्य नहुँदासम्म अतिरिक्त आउटलेट व्यवस्था गरेका छौं ।’
साबिकका डिपो, डिलर र बिक्री केन्द्र पनि पूर्ववत् सञ्चालनमा रहनेछन्।यस्ता आउटलेटबाट उपभोक्ताले खाली सिलिन्डर साटेर भरिएका सिलिन्डर तत्कालै प्राप्त गर्न सक्नेछन् । तर एकजना उपभोक्ताले एक थान मात्रै सिलिन्डर पाउने व्यवस्था गरिएको छ । निगमले प्रतिसिलिन्डर एक हजार तीन सय ७५ रुपैयाँ मूल्य तोकेको छ । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्