काठमाडौँ, ११ चैत । संसदीय सुनुवाइ बिशेष समितिले चीनका लागि नयाँ राजदूतमा महेन्द्रबहादुर पाण्डेको नाम अनुमोदन गरेको छ ।
संसदीय सुनुवाइ बिशेष समितिको सोमबार बैठकले सर्वसम्मत रुपमा पाण्डेलाई चीनका लागि नेपाली राजदूतका रुपमा अनुमोदन गरेको हो ।
पाण्डेले सुनुवाइका क्रममा नेपाल र चीनबीचको आर्थिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई उचाइमा पुर्याउने प्रतिबद्धता जनाउनु भएको थियो ।
गत फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता पाण्डेलाई चीनका लागि आवासीय, उत्तर कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूतमा सिफारिस गरिएको थियो ।
संसदीय सुनुवाइ समितिले फागुन २८ गते पाण्डेविरुद्ध सार्वजनिक गुनासो तथा उजुरी आह्वान गरेको थियो । समिति सचिवालयले कुनै पनि उजुरी नपरेपछि सोमबार बैठक बोलाएको हो ।
चीनमा कोरोना भाइरसको संक्रमण फैलिएको नेपालमा पनि त्यसको त्रास बढिरहेका बेला पाण्डेलाई राजदूतका रूपमा चीन पठाउन थालिएको हो । चीनले कोरोना संक्रमणविरुद्ध लड्न नेपाललाई सहयोग गर्ने प्रस्ताव गरेको छ। त्यसका लागि समन्वय गर्न पाण्डेलाई छिटो चीन पठाउने योजनासहित आज नाम अनुमोदन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्