राजनीति

रसुवागढी र तातोपानी नाकाबाट आयात निर्यात सुचारु गरिने



काठमाडौँ, १३ चैत । स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनको रसुवागढी र तातोपानी नाकाबाट सामान आयात निर्यात कार्य सुचारु गरिने भएको छ । आयात निर्यात सुचारु गर्न आवश्यक समन्वय गृह र अर्थ मन्त्रालयले गर्नेछ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहनुभएको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

विदेशी नागरिकलाई फर्काइने

बैठकले नेपालमा रहेका विदेशी नागरिकलाई आफ्नो मुलुक फर्काउने भएको छ । नेपालका विभिन्न स्थानमा रहेका विदेशीलाई हवाई उद्धार गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर सम्बन्धित मुलुक फर्काइने बैठकले निर्णय गरेको छ ।

विदेश फर्कीजान उडानको समय नमिलेको अवस्थामा सो अवधिभर विमानस्थल नजिकैको होटलहरुमा सेल्फ क्वारेन्टाइनमा राखिने जनाइएको छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।