समाचार

एकैदिन उड्ने भए दुई वटा वाइडबडी



काठमाडौँ, १८ चैत । नेपाल एअरलाइन्सका दुई वटा वाइडबडी जहाज अस्ट्रेलिया र चीन जाने भएका छन् ।

एउटा जहाज नेपालमा रहेका अस्ट्रेलियाका नागरिक बोकेर ब्रिस्बेन जाने र अर्काे जहाज चीनमा मेडिकल सामग्री लिन जाने नेपाल वायुसेवा निगमले जनाएको छ । दुई वटै उडान अप्रिल २ तारिखमा हुनेछन् ।

नेपालमा रहेका अस्ट्रेलियाका नागरिकलाई स्वदेश फर्कनको लागि नेपालमा रहेको अस्ट्रेलियाली दूतावासले नेपाल एअरलाइन्सको जहाज चार्टड गरेको छ ।

२ तारिखमा ब्रिस्बेन जाने सबै चाँजोपाँचो नेपालमा रहेको अस्ट्रेलियाली दूतावासले गरेको छ भने ब्रिस्बेनपछि सिड्नीको उडान पनि हुन सक्ने जनाएको छ ।  यस्तै २ तारिखकै दिन निगमको अर्को वाइडबडी चीनको ग्वान्झाउ जाने भएको छ । नेपाली व्यवसायीले मेडिकल सामग्री लिन निगमको जहाज लैजान लागेका हुन् । त्यसपछि चीनकै ग्वान्झाउ र छेन्दु जाने तालिका रहेको पनि निगमले जनाएको छ ।