राजनीति

स्थानीय निकायको निर्वाचन छिटोमा वैशाख २५ ढिलोमा ३०ः प्रधानमन्त्री



काठमाडौँ, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख अन्तिम साता स्थानीय तहको निर्वाचन हुने बताए ।

संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय पत्रकारिता’ पुस्तकको विमोचन समारोहमा आज प्रधानमन्त्री दाहालले यही माघ १५ गतेभित्र निर्वाचनसम्बन्धी आवश्यक विधेयक संसदबाट पारित गराई निर्वाचनको मिति घोषणा गर्ने सहमति भएको बताए ।

प्रधानमन्त्रीले “छिटोमा वैशाख २५ गते र ढिलोमा वैशाख ३० गते सुरु गरी जेठकोे दोस्रो सातासम्म निर्वाचन सम्पन्न हुने गरी प्रमुख दलहरुबीच सहमति भएको छ ।” संविधान जारी गर्ने बेलामा नै असन्तुष्ट दललाई सहमति ल्याउन प्रमुख तीन दलबीच संविधान संशोधन गर्ने सहमति भएको जनाउँदै प्रधानमन्त्री दाहालले भने“सोही दिशामा सरकारले संशोधनमार्फत संविधानको स्वीकार्यता फराकिलो बनाउन पहलकदमी लिएको छ ।”

प्रधानमन्त्री दाहालले संशोधनको प्रक्रिया अघि बढाएर असन्तुष्ट दललाई पनि निर्वाचनमा आउने वातावरण बनाउन सरकारको ध्यान केन्द्रित रहेको उल्लेख गर्दै राजनीति विशुद्ध अङ्कगणितीय हिसाबले मात्र चल्नु हँुदैन भने ।

कार्यक्रममा सभामुख ओनसरी घर्तीले संविधानमा उल्लेख भएअनुसार स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन गर्न एक वर्ष मात्र समय बाँकी रहेका बेला निर्वाचन गर्ने सम्बन्धमा प्रमुख दलबीच भएको सहमतिको प्रशंसा गरिन् ।

सभामुख घर्तीले लोकतान्त्रिक अभ्यास गर्ने मुख्य थलोका रुपमा रहेको संसद्का गतिविधि जनतासम्म पु¥याउन सञ्चारमाध्यको भूमिका महत्वपूर्ण रहेको भन्दै संसदीय रिर्पोटिङ गर्ने पत्रकार संसद्का मानार्थ सदस्यका रुपमा रहेको उल्लेख गरिन।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सञ्चारमाध्यमले संसद् र जनतालाई जोडेको बताउँदै सञ्चारमाध्यमको निगरानीका कारण नै बैठकमा सांसदहरु अध्ययनका साथ चनाखो रुपमा प्रस्तुत हुने गरेको धारणा राखे ।

पूर्वसभामुख एवम् नेकपा एमालेसंसदीय दलका उपनेता सुवास नेम्बाङले संविधानसभाबाट संविधान जारी गर्दा प्रमुख दलबीच भएको सहमति संविधान कार्यान्वयनमा पनि हुनुपर्ने आवश्यकता रहेको वताए।