राजनीति

वर्षमान पुनले भने–कुनै दलले भाग नलिए पनि अब स्थानीय तहको निर्वाचन रोकिदैन



काठमाडौं,१८ चैत्र । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले कुनै दलले भाग नलिएपनि स्थानीय तहको निर्वाचन नरोकिने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पुनले भने,‘निर्वाचनको प्रक्रिया धेरै अघि बढिसक्यो, अब निर्वाचन हुँदैन कि भनेर कसैलेपनि शंका गर्नुहुँदैन, रोकिने र नहुने भन्ने हुँदैन्, कारणवश कुनै दल छुटे पछि उनीहरुलाई क्षतिपूर्तिसहित प्रदेश र संघीय निर्वाचनमा समेटिनेछ ।’

संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेको बताउँदै उनले भने,‘यो सरकारको पहिलो प्राथमिकता भनेको नै संविधान कार्यान्वयन गर्ने हो, त्यसको लागि ०७४ माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन गर्नुपर्छ, यसको लागि सरकार अघि बढिसकेको छ ।’
उनले मधेसी मोर्चा लगायतका असन्तुष्ट पक्षहरुको माँग सम्बोधन गर्न संविधान संशोधन गर्ने र निर्वाचनको प्रक्रियापनि सँगसँगै अघि बढाउने सरकारको तयारी रहेको जनाए। उनले घोषित मितिमै स्थानीय तहको निर्वाचन हुने समेत विश्वास दिलाए ।
पुनले भने,‘५० जिल्लाको मतपत्र छपाईको काम सम्पन्न भइसकेको छ, ७५ हजार म्यादी प्रहरी भर्ना भइसकेका छन्, प्रशासनिक एव्म सूरक्षा तयारी भइरहेको छ ।’ स्थानीय तहको निर्वाचन कुनैपनि हालतमा नसर्ने जिकिर गर्दै पुनले भने,‘सरकार अब पछि हट्दैन्, चुनाव हुन्छ, हुन्छ ।’
पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल चीन जानु अघि नै असन्तुष्ट मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगे अनौपचारिक समझदारी बनिसकेको समेत दाबी गरे । उनले सिमांकनबाहेकका विषयहरुलाई चुनाव अघि नै संशोधन गरेर मोर्चालाई चुनावमा लिएर जाने सरकारको तयारी रहेको र यसमा मोर्चा सकारात्मक देखिएको विश्वास दिलाए ।
उनले मधेसी मोर्चालेपनि भित्रभित्रै चुनावको तयारी गरिरहेको दाबी गरे । पुनले थपे,‘मधेसी मोर्चाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ, आफ्नो प्रभाव रहेको जिल्लामा कहीँपनि दल दर्ता गराउन छुटाएको छैन, बरु काँग्रेसको केही ठाउँमा छुटेको छ ।’
उनले पछिल्ला समय मधेसी मोर्चामा आवद्ध दलहरुबीच एकता हुने कुरा आउनुपनि चुनावको तयारीको लागि हो भन्ने कुरा प्रष्ट हुने जनाए । पुनले भने,‘बाबुराम भट्टराईजीको नयाँ शक्ति नेपाल र उपेन्द्र यादवजीको संघीय समाजवादी फोरम नेपालवीचपनि एकता हुँदैछ, यो राम्रो हो, विरगञ्जमा हालै व्यापारीहरु फोरममा प्रवेश गरेका छन्, उनीहरु आन्दोलन गर्नको लागि त पार्टी प्रवेश गरेका होईन नि, यो पनि चुनावको तयारी नै हो ।’ उनले पार्टीहरुवीच एकता हुनु मुलुकको लागि पनि राम्रो हुने स्पष्ट पारे ।
उनले २ नम्बर प्रदेशमा पनि चुनाव हुनेमा आफू विश्वस्त रहेको बताए । २ नम्बर प्रदेशका युवाहरु नै सबैभन्दा ठूलो संख्यामा म्यादी प्रहरीमा भर्ना भएको जानकारी दिए । पुनले भने,‘२ नम्बर प्रदेशका युवाहरु म्यादी प्रहरीमा भर्ना भैसके, अब त्यहाँ ढुँगामुढा हान्ने मान्छे छैनन्, चुनाव हुन्छ ।’
स्थानीय तहका नेता तथा कार्यकर्ताहरु चुनावको तयारीमा जुटिसकेकोले नेतृत्वलाईपनि चुनावमा भाग लिन बाध्य पार्ने उनको दाबी थियो ।