समाचार

धर्तिको स्वर्ग वा सांग्रिला : खेम्पालुड़



काठमाडौँ, २५ चैत । महाभारतमा सन्जयले दरबार मै बसेर महाभारतको युद्धका बारेमा महाराज धृतराष्टलाई युद्ध बृतान्त बताएको उल्लेख गरेको पाईन्छ । टेलिफोन, टेलिभिजन, सिसिटिभी र वेबक्याम नबनुन्जेल या कुरालाई असम्भव र अकल्पनीय मानिन्थ्यो भने अहिले आएर त्यो शक्ति र प्रविधिकावारे खोजमुलक कौतुहलता जागेको छ । त्यस्तै कालन्तरमा कालिदासले घर मै बसी बसी मेघदूत लेखे । उनको यात्रा बृतान्त भनौ वा ट्राभल गाईड भनौ साच्चिकै हिडेर लेखेजस्तो देखिन्छ ।

पछि बेलायती नागरिक जेम्स हिल्टन द्वारा सन १९३३ मा लस्ट होराईजन नामक विश्वविख्यात उपन्यास लेखे । यसमा आधारित कयौं फ़िल्महरू पनि बनेका छन् जसमध्ये १९३७ मा फ्रान्क काप्राद्वारा निर्देशित फ़िल्म नै प्रख्यात भयो जसमा हिमालयको गर्भमा लुकेको सांग्रिलको वारे सन्सारभर कौतुहलता जगायो । यसलाई धर्तिमा स्वर्गको टुक्राकारूपमा बर्णन गरिएको छ । उनले बयान गरेको स्वर्गीय ठाऊं सांग्रिलाको खोजमा कयौ सरकारी मिसनहरू शैनिक टुकडि लिएर निस्किए । लाखौं पर्यटकहरू हिमालका काखका मानव रहित र दूर्गम स्थान तिर भौतारिए । हाम्रो हिमालमा त बाटो भुल्ने झार नै हुन्छ रे । धेरै नजिकै नजिकै त पुगे तर ठाऊ मै पुग्न भने सकेनन् । यो ठाऊ अझै पनि हिमालय अधिराज्यको दक्षिणको पवित्र उपत्यकाको भर्भमा लुकेर बसेको छ ।

उपन्यासका अनुसार सन १९३१ ताका भारतमा बृटिशराज थियो । त्यहा क्रान्ति चर्केपछि ८० जना बास्कुलका बासिन्दाहरूलाई पेशावर तर्फ उद्धार गर्ने योजना थियो । उनिहरूका अतिरिक्त उक्त जहाजमा ३७ बर्षीय बेलायती कुटनितिज्ञ हग कनवे, उनका सहायक म्यालिन्सन, बर्नाड नामका एक अमेरिकन र ब्रिटिश मिसिनरी मीस ब्रीन्क्लो पनि थिए ।फर्किने क्रममा अकस्मात बीच आकाश मै जहाज अपहरणमा पर्दछ र हिमालयको खोचमा दुर्घटना हुन्छ । पाईलटको मृत्यु हुन्छ । राति पुल्ठो बालेर नजिकैको लामासिरीबाट मानिसहरू उद्धार गर्न आउदछन् । उनिहररू घिस्रिदै कुनै गुफामा पुग्दछन् । गुफ़ा भित्रभित्रै धेरैबेर हिडेपछि त्यहाबाट अर्को तिर हेर्दा रनोरम भ्याल्ली देखिन्छ । जहॉं अति नै सुन्दर गाऊँ पनि देखिन्छ । त्यहा पवित्र गुम्बा र स्कुल पनि हुन्छ । त्यो यस्तो स्वर्गीय ठाऊ हुन्छ जहॉं मानिस कहिल्यै बुढो हुदैनन । अन्नबाली लाऊनु पर्दैन आज काट्यो भोलि त्यस्तै हराभरा हुन्छ । उनीहरू ४ जनालाई नजिकै को गुम्बाका लामाले गुम्बामा लैजान्छन् । उनी अंग्रेजी पनि राम्रो बोल्दछन् । उक्त गुम्बामा आधुनिक सुविधाहरू छन् । जस्तो सेन्ट्रल हिचिड़, बाथटव, लाईब्रेरी, पियानो लगायतका बाजा, नजिकैको भ्यालीबाट उत्पादित ताजा खाना पाईन्छ । वास्तवित ब्लू मून जस्तो झल्को दिने २८००० मीटर भन्दा बढिको उचाई भएको हिमालय सृंखला अति नै मनमोहक छ । जन्म, मृत्यु देखि जीवनकालका हरेक घटनाको उत्सव मनाईन्छ । समय बितेको पत्तै हुदैन । सुरूमा उनिहरू भरिया लिएर फर्किन खोजेतापनि केही समय त्यही बस्तछन् । मिस ब्रीन्क्लो त्यही स्कुलमा पंढाउन थाल्छिन भने बर्नार्ड पनि त्यही सुन खानी उत्खनन् गर्न तल्लिन हुन्छन् ।

उपन्यासमा लोत्सेन नामकी एकजना बाध्यबाधक करिव २० बर्षको जस्तो देखिने युवतीको चर्चा छ । उनि ८० बर्ष अधि त्यो ठाऊमा आएकी हुन् रे । उनी संग म्यालिन्सन को मायाप्रिती बस्तछ । त्यो गुम्बा एकजना लक्जेम्बर्गको क्याथिलिक भिक्षुद्वारा १८औंताब्दीमा निर्माण गरिएको बर्णन गरिएको छ । तीनै भिक्षु अहिले मुख्य लामा भएको र उनी त्यतीबेला क़रीब २५० बर्ष जति भएको अनुमान गरिएको छ । त्यहा पुगे पछि मानिस बिस्तारै बुढो हुने र त्यो भ्याली छोड्नासाथ बुढो भएर मर्ने गर्दछन् । केही पंछि लामाले निर्वाणा प्राप्त गर्ने बताउदै कन्वेलाई ऊक्त लामाश्री को नेतृत्व गर्न अनुरोध गर्दछन् । कन्वेले उक्त लामाको देवहासन पश्चात विधिपूर्वक अन्त्येष्टि गर्दछन् ।

अन्त्येष्टिको केही घण्टा पछि कन्वेको सहायक मालिन्सनले अब त्यो भ्याली छाड्ने र भरिया र लोत्सेन ५ कि मी पारी कुरिरहेको बताउछन् । वार्नार्ड र ब्रिन्क्लो त्यही बस्ने निधो गर्दछन् । मालिन्सनले एक्लै यात्रा पार लगाउने आट गर्दैनन् । कन्वे धर्म संकटमा पर्दछन् । उनीहरूको मायाले संगै जान राजी हुन्छन् । बाटोमा हिउपहिरोमा भरियाहरू पुरिन्छन् । जब उनिहरू सांग्रिलाको सिमाना कट्दछन् तब लोत्सेन अचानक बुढी भई मर्दछिन । उनलाई देख्नासाथ मालिन्सानले नी भिरबाट हाम फालेर आत्महत्या गर्दछन् । उपन्यासमा अन्तमा कन्वेलाई फेरि कुनै तिब्बतियन मूलकी एकदमै बुढी आईमाईले अस्पताल ल्याएको चर्चा छ । डाक्टरहरूले कहिल्यै पनि यतिधेरै बुढी मान्छे कहिल्यै पनि नदेखेको बताउछन् । उनी उही लोत्सेन नै हुनसक्ने र उनी नमरेको पनि हुनसक्छ । अस्पतालमा कन्वेले डाक्टर संग सांग्रिलाकाबारेमा आफ्नो यात्रा बृतान्त बताएको र त्यसकै आधारमा उपन्यासको कथाबस्तु लेखिएको बताईएको पाईन्छ । डाक्टरले उसको साथीलाई बताएसंगै दौडिएर कन्वेलाई अस्पतालको बेडमा भेट्न आउदा उ त्यहाबाट हिडिसकेको र सायद उ त्यही सांग्रिलामा फर्केको अनुमान गरिएको छ । सायद उ त्यहा संकुल पुगे होला र अहिले सम्म जिवितै होलान भन्ने विश्वास गरिन्छ । यसरी उपन्यास र फिल्मको अन्त्य हुन्छ ।

अहिले हामीले खेम्बालुड़लाई नै उपन्यासमा बर्णन गरिएको सांग्रिला हो भनि अनुमान गर्न सक्ने धेरै आधारहरू छन् । उपन्यासमा भनेजस्तै उक्त गुफामा एक तर्फबाट माथि बाट पस्ने तल निस्कन सकिन्छ । यो गुफाबाट भित्र भित्रै तिब्बत पनि निस्कन्छ भन्ने कुरा लामाहरूले बताउने गरेका छन् । साथै वरूण उपत्यका साच्चिकै कै धर्तिको स्वर्ग हो । स्कन्द पुराणको केदार खण्डमा स्वर्ग सुमेरूको चुचुरो भन्दा केही तल छ भनी बर्णन गरिएकोले पनि यो कुरालाई शास्त्रीय हिसावले पुष्टी गर्ने थप आधार मिल्दछ ।

पौराणिक मान्यतानुसार सत्य युगको सन्सार कै प्रभावशाली राज्य हिमालय अधिराज्य पूर्वमा अहिलेको म्यांमार देखि पश्चिममा अफ़ग़ानस्थान सम्म फैलिएको थियो रे । यो अधिराज्यको राजधानी अहिलेको वरूण उपत्यकामा वा खेम्पालुड़मा थियो रे । सतिदेवीले पिता दक्षप्रजापतिको यज्ञकुण्डमा आत्मदाह गरिसके पछि कालन्तरमा हिमालयराज पर्वत र रानी मेनकाको कोखबाट पार्वतिको जन्म भएको उल्लेख छ । पार्वतीले श्री स्वस्थानी माताको व्रत बसी महादेव पति पाएको र पार्वतिको विवाह भएको पवित्रस्थल पनि यही हो भन्ने बर्णन गरिएको छ । अहिले भएका राजारानी हिमाल जसलाई स्थानीय भाषामा माउन्ट नेपेऊ र मा भुजुड़ भनिन्छ उनै राजा पर्वत र रानी मेनका हुन् भन्ने कुरा शाश्त्रमा उल्लेख छ । मा भुजुड़लाई भर्भवती आमा पनि भनिन्छ । पार्वतिलाई गर्वधारण गरेको प्रतिकका रूमा पनि मान्ने गरिएको छ । स्थानीय मानिसहरू सन्तान प्राप्ति नभए त्यो ठाऊमा गई दर्शन गरे सन्तान प्राप्ति हुने विश्वास गर्दछन् । ब्रमाले पनि सन्तान नभए पछि बरूणमै आई तपस्या गरेपछि बर्मापुत्र को जन्म भएको उल्लेख छ । साथै गंगा पनि हिमालयराज पर्वत कै छोरी भएकाले शिवधारा नै गंगाको वास्तविक शिर हो भन्ने पनि विभिन्न शाश्त्रहरूमा उल्लेख गरिएको छ ।

आठौ सताब्दीमा गुरू पद्मसम्भवले पौराणिक हिमालय अधिराज्यका बिभिन्न पवित्र ठाऊमा गई ध्यान तपस्यागरि ज्ञान र अमरत्व प्राप्त गरे । त्यसमध्ये पनि झ्याड़ खेम्बालुड़लाई स्वर्ग वा साम्बाला कै हाराहारीको मान्यता दिएको पाइन्छ । उनले सबैभन्दा लामों समय ध्यान गरेको स्थान पनि खेम्पालुड़ नै हो । उनले आकाशमा फलामको चरा उड़ान थाले पछि ठूलो धर्मयुद्द हुने संकेत गरेका छन् । त्यो बेलामा वियुलहरू सुरक्षित हुने र यहीबाट धर्मको रक्षा र नयॉं सभ्यताको सुरूवात हुने कुरा उल्लेख गर्नु भएको छ । गुरू पद्मसम्भवको जीवनी र यात्रा बृतान्तका बारेमा पेमाकथाड़मा सबिस्तार बर्णन गरिएको पाईन्छ । धर्मको रक्षाकालागि बहुमुल्य ग्रन्थ र मुर्तीहरू यिनै वियूलहरूमा लुकाई दिएको र उपयुक्त समयमा त्यसको ढोका खुलने र सामानहरू प्राप्त हुने कुरा पनि उल्लेख गर्नुभएको पाइन्छ । यो ठाउबाटै नयॉं अवतार र नयॉं युगको सुरूवात हुने बारे पनि बर्णन् गरिएको छ । यसकालागि अझै हज़ारों बर्ष बांकी रहेको उल्लेख छ । गुरूका अनुयायीहरूले अहिले तेही कुरालाई श्रद्दा र भक्तिकासाथ पर्खिरहेका छन् ।

स्थानीयको किम्बदन्तिका अनुसार तोडडाकफुकको गुफामा हजारौ मानिस बस्दथे रे । गुफा तलतिरको फाटमा बिहान धान रोप्यो बेलुकी पाक्ने गर्दथ्यो रे । एक दिन रातों आँखें भएको सेतो रंगको याकको भेषमा प्रकृति देवता वा नेचर गड धान खान आएका थिए रे । उनीहरूले त्यसलाई मारी खाए पछि सबैजना रंगत छादी मरेका रे । अझै पनि ओडारमा मानिसका हाडखोरको थुप्रो पाइन्छ रे । त्यो बेला देखि शक्ति नष्ट भई एक दिनमा धान फल्न पनि बन्द भयो रे भन्ने पनि किम्बदन्ति छ । खेम्पालुड़का स्थानीय बासिन्दाहरू संग कुरा गर्दा अन्य रोचक कुराहरू पनि सुन्न पाईन्छ । त्यो भेगमा आगोमा पनि नपाक्ने अनौठो प्रजातिको आलु पाइन्छ रे जसलाई सन्सार नै प्रलय हुँदा पनि सुरक्षित हुने खाद्यान्नका रूपमा विश्वास गरिन्छ । साथै यो भेगमा कुनै पनि भोकमरी र माहामारी नहुने विश्वास गरिदै आएको छ ।

अहिले पनि खॉंदबारी माथि गोगने पुगेर मकालु तर्फको क्षितिजलाई निहाल्दा जेम्स हिल्टनले उनको उपन्यासमा बर्णन गरेको बास्तविक हिमालयन युटोपिया वा लष्ट होराईजनको झझल्को आउछ । साथै बरूण उपत्यका नै वास्तविक सांग्रिला भएको धेरै तथ्यहरूले औल्याउदछन् । यसलाई उचित संरक्षण र बिकास गरि यसको पवित्रतालाई असर नपार्ने गरी हामीले धार्मिक, आध्यात्मिक र पर्यावरणीय पर्यटनको विकास गर्नु जरूरी छ । धार्मिक आश्था, आध्यात्मिक चेतना र वातावरण प्रति सम्बेदनशीता नभएका पर्यटकहरूको भिडभाड लगाउने कुरालाई हतोत्साहित गर्नु जरूरी छ । यस तर्फ स्थानीय जनता र अन्य सरोकारवाला सबै व्यक्ति तथा समुहको ध्यान जानु जरूरी छ ।

तेजबहादुर ढकाल, काठमाडौँ