समाचार

प्रहरीद्वारा हतियार र नगद बरामद



कञ्चनपुर, २६ चैत । कञ्चनपुरबाट प्रहरीले हतियारसहित नगद रकम बरामद गरेको छ ।

मङ्गलबार साँझ  कृष्णपुर नगरपालिका वडा नं ४ र ५ सीमा नजिकैबाट रोकिराखेको डिएल३सिसीआर ३९९७ भारतीय नंको टोयटा फर्चुन गाडीबाट सशस्त्र प्रहरीले हतियारसहित नगद रकम बरामद गरेको हो।

प्रहरीका अनुसार गाडीबाट प्वाइन्ट टुटु एलआर बन्दुक एक थान, त्यसमा लाग्ने गोली १४ थान र एयरगन एक थान र सोको छर्रा १९६ बरामद गरिएको छ । सोही गाडीबाट नेपाली एक हजारको नोट ७१ हजार, ५०० का नोट पाँच हजार ५०० बरामद गरिएको छ ।

अवैध हतियार र नगद रकमसहित छ बैंकका एटीएम कार्डसमेत बरामद गरिएको छ । बरामद गाडी कैलालीको गोदावरी नगरपालिका–१० का वडाध्यक्ष गुड्डु शाहीको रहेको र उक्त गाडी, हतियार, नगद रकम र एटीमकार्ड इलाका प्रहरी कार्यालयमा बुझाइएको छ ।