काठमाडौँ, २ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को असर विकास खर्चमा प्रत्यक्ष देखिएको छ । चालु आर्थिक वर्षको ९ औं महिना बितिसक्दा मात्र २५.७९ प्रतिशत विकास खर्च भएको छ । अझ कोरोनाबाट अति प्रभावित चैत महिनामा विकास खर्चमा व्यापक कमी आएको छ ।
सरकारले बजेटको अर्धवार्षिक समीक्षाबाट संशोधन गरेको लक्ष्य अनुसार फागुनयता हरेक महिना झण्डै ५० अर्ब रुपैयाँ विकास खर्च हुनुपर्ने थियो । तर, चैत महिनामा पौने नौ अर्ब रुपैयाँ विकास खर्च भएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चैत मसान्तसम्म कूल विकास खर्च एक खर्ब पाँच अर्ब २२ करोड ४५ हजार भएको छ । यो चालु आवमा विनियोजित विकास खर्चको २५.७९ प्रतिशत मात्र हो । फागुनमा विकास खर्च ९६ अर्ब ४८ करोड रुपैयाँ थियो । चैतमा मात्र आठ अर्ब ७४ करोड रुपैयाँ विकास खर्च भएको तथयांकले देखाएको छ ।
सरकारले चालु आवमा कूल चार खर्ब आठ अर्ब रुपैयाँ विकास खर्च विनियोजन गरेकोमा अर्धवार्षिक समीक्षाले यसलाई तीन खर्ब २६ अर्ब ८१ अर्बमा झारेको थियो ।
| शीर्षक | फागुन मसान्त | चैत मसान्त | वृद्धि |
| पूँजिगत खर्च | ९६ अर्ब ४८ करोड १२ लाख (२३.६५ प्रतिशत) | १ खर्ब ५ अर्ब २२ करोड ४५ लाख (२५.७९) | ८ अर्ब ७४ करोड ३३ लाख |
| चालु खर्च | ४ खर्ब ५० अर्ब ७८ करोड ८६ लाख (४७.१० प्रतिशत) | ४ खर्ब ९५ अर्ब ३९ करोड ५४ लाख (५१.७६ प्रतिशत) | ४४ अर्ब ६० करोड ६८ लाख |
| वित्तीय व्यवस्था | ६२ अर्ब ९७ करोड (३७.५२) | ७४ अर्ब २३ करोड ६५ लाख (४४.२३) | ११ अर्ब २५ करोड ९२ लाख |










प्रतिक्रिया दिनुहोस्