काठमाडौं, १९ चैत । स्थानीय तह निर्वाचनका लागि चीनबाट ल्याउन लागिएका १० हजार थान मतपेटिका रसुवागढी केरुङ नाकामा आइपुगेको छ ।
३१ बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ३० हजार थान मतपेटिका चीनबाट ल्याउन लागिएको हो । त्यसमध्ये पहिलो चरणमा बिहीबार नै १० हजार थान मतपेटिका रसुवाको केरुङ नाका आइपुगेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि आवश्यक पर्ने करिब ८० हजार थान मध्ये आयोगले चीनबाट ३० हजार थान मतपेटिका ल्याउन लागेको हो ।
निर्वाचन आयोगसँग अघिल्लो संविधानसभा निर्वाचनमा जापानबाट ल्याइएका मतपेटिकामध्ये करिब ६० हजारको हाराहारीमा प्रयोग गर्न मिल्ने मतपेटिका छन् । अपुग रहेको मतपेटिका चीनबाट ल्याउन लागेको आयोगका प्रबक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
चीनबाट ल्याउन लागिएको ३० हजार थान मतपेटिकामध्ये १० हजार थानको भन्सार ब्यवस्थापनको काम अघि बढिरहेको शर्माले बताए । ‘हामीलाई केरुङ नाकामा १० हजार थान मतपेटिका आइपुगेको भन्ने सुचना आएको छ, त्यसको जाँचपास र छुटका लागि हामीले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेका छौ,’ प्रवक्ता शर्माले भने । राजधानीमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्