काठमाडौँ, ३ वैशाख । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनलाई उलङ्घन गर्ने प्रति निर्मम भई कारवाही गर्ने चेतावनी दिनुभएको छ ।
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले लकडाउन थप कडा पार्ने जानकारी गराउँदै सरकारले अत्यावश्यक कामबाहेक कोही पनि नागरिकलाई घरबाहिर निस्कन नदिने कदाचित् निक्लिएको भेटेमा कानुनी कारबाही गर्ने बताउनुभएको छ ।
काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न भागमा सङ्क्रमित फेला गरिरहेको बताउँदै उहाँले लापरवाही गर्न छुट नदिइने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “वैशाख १५ गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेका छौं । कडाइ गर्नै पर्यो नि ! उलङ्घन गर्नेप्रति सरकार निर्मम हुन्छ ! काठमाडौँ मै पनि एकपछि अर्को केस थपिँदैछ । अहिले पनि मानिसहरू गतिछाडा भएर हिँड्छन, लकडाउनको पालना गराउनै प¥यो । सरकारको लागि होइन । नागरिकको जीवनरक्षा जुनसुकै मूल्य चुकाएर भए पनि गर्नुपर्छ ।” सरकारले वैशाख १५ गतेसम्म लकडाउन लम्ब्याएसँगै थप कडाइ गर्ने नीति लिएको छ ।
लकडाउन उलङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐन–२०२० बमोजिम कारबाही हुनेछ । यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई १ महिनासम्म कैद वा १०० रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा ६०० सय रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।










प्रतिक्रिया दिनुहोस्