सम्पादकीय

शीर्ष नेताको सहभागितामा देशभर कांग्रेस सभा



काठमाडौं, १९ चैत । कांग्रेसले स्थानीय तहको चुनावलाई लक्षित गर्दै सातवटै प्रदेशमा आमसभा र सबै स्थानीय तहमा केन्द्रीय नेताको उपस्थितिमा सभा गर्ने निर्णय गरेको छ । नेता रामचन्द्र पौडेल नेतृत्वमा बनेको निर्वाचन परिचालन समितिको शुक्रबार बसेको बैठकले सातवटै प्रदेशमा सभापतिसहित शीर्ष नेताले सम्बोधन गर्ने गरी आमसभा गर्ने भएको छ ।

साथै, ७ सय ४४ स्थानीय तहमै केन्द्रीय नेताको उपस्थितिमा सभा गर्ने निर्णय गरेको जानकारी केन्द्रीय सदस्य रमेश रिजालले दिए । ‘पार्टीका शीर्षस्थ नेताहरू सहभागी भई सातवटा प्रदेशमा ठूला आमसभा गर्ने र ७ सय ४४ स्थानीय तहमा केन्द्रीय नेताले सम्बोधन गर्ने गरी सभा गर्ने निर्णय समिति बैठकले गरेको छ,’ समिति सदस्यसमेत रहेका रिजालले भने, ‘ठूला आमसभालाई सभापतिसहित शीर्षस्थ नेतृत्वले सम्बोधन गर्नुहुन्छ ।

स्थानीय तहका सभालाई पनि सम्बन्धित प्रदेशका केन्द्रीय नेताले अगुवाइ गर्नेछन् ।’
चुनावमा कांग्रेसको पक्षमा जनमत बढाउन प्रचारप्रसारमा केन्द्रीय नेतालाई गाउँ तहसम्मै परिचालन गर्ने तयारी गरिएको जानकारी उनले दिए ।

‘ठूला सभामा केन्द्रीय नेता सहभागी हुनुहुन्छ । तर, यसका लागि तालिका बनाएर ल्याउन संयोजकलाई सुझाएका छौँ,’ रिजालले भने, ‘अब संयोजकले चुनावलक्षित प्रचारप्रसारका कार्यक्रम बनाएपछि थप छलफल गर्छौँ ।’

केन्द्रीय कार्यालयका सचिव प्रेम केसीका अनुसार नेता पौडेलले शनिबार कार्यालयका कर्मचारीहरूको सहयोगमा चुनावी प्रचारप्रसारका कार्यक्रम बनाउन छलफल गर्ने भएका छन् ।

परिचालन समितिको बैठकले पार्टी केन्द्रदेखि जिल्ला क्षेत्र, गाउँ, नगर हुँदै वडा तहसम्म एउटै अठोट र अभियानका साथ पार्टीलाई थप संगठित गर्ने र स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई प्रथम स्थान हासिल गराउने गरी प्रचारप्रसार गर्नुका साथै संगठन सुदृढ गर्ने निर्णय पनि गरेको छ । पार्टीका सबै तहमा स्थानीय निर्वाचन परिचालन समिति गठन गरेर कांग्रेसको पक्षमा माहोल सिर्जना गर्ने तयारी कांग्रेसको छ ।

कांग्रेसले स्थानीय तहका उम्मेदवार सम्बन्धित पार्टीका समितिले नै गर्ने कार्यविधि बनाएको केन्द्रीय कार्यालयका सचिव केसीले जानकारी दिए । पार्टीमा निरन्तरता दिएका, योग्य र सक्षमलाई उम्मेदवार बनाउने तयारी कांग्रेसको छ । नयाँ पत्रिकामा समाचार छ ।