काठमाडौँ, ३ वैशाख । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या २० लाखनजिक पुगेकाे छ ।
वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म कोरोना संक्रमितकाे संख्या १९ लाख ९८ हजार १०९ पुगेकाे छ । पछिल्लाे २४ घण्टाभित्र मात्रै ७३ हजार बढी नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये ४ लाख ७८ हजार ६५८ जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले १३ लाख ९२ हजार ५६६ जनामा भने काेराेना सक्रिय रहेकाे छ अहिलेसम्म विश्वभर काेराेना भाइरसका कारण १ लाख २६ हजार ६०० जनाले ज्यान गुमाएका छन् ।
अहिलेसम्म अमेरिकामा काेराेना संक्रमितकाे संख्या ६ लाख १३ हजार बढी रहेकाे छ । मंगलबार मात्रै अमेरिकामा २७ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३८ हजार ८२० जना भने पूर्णरूपमा निकाे भएका छन् । काेराेनाका कारण अहिलेसम्म अमेरिकामा २६ हजार बढीकाे मृत्यु भइसकेकाे छ ।
त्यस्तै स्पेनमा अहिलेसम्म १ लाख ७४ हजार बढी संक्रमित भएका छन् । संक्रमितमध्ये ६७ हजार ५०४ जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । स्पेनमा अहिलेसम्म १८ हजार ५२२ जनाले काेराेनाका कारण ज्यान गुमाइसकेका छन् । बुधबार बिहानसम्म इटालीमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २१ हजार नाघेकाे छ । इटालीमा अहिलेसम्म १ लाख ६२ हजार ४८८ काेराेना संक्रमित भएका छन् । फ्रान्समा अहिलेसम्म काेराेनाका कारण १५ हजार ७२९ जनाकाे मृत्यु भएकाे छ भने संक्रमित हुनेकाे संख्या १ लाख ३२ हजार २१० पुगेकाे छ । मंगलबार मात्रै त्यहाँ ६ हजार ५२४ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै जर्मनीमा काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ३२ हजार नाघेकाे छ । तीमध्ये ६८ हजार २ सय जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ६० हजार ५१५ जनामा काेराेना सक्रिय रहेकाे छ । ४ हजार २०० जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।
फ्रान्समा अहिलेसम्म काेराेना संक्रमित हुनेकाे संख्या १ लाख १३ हजार पुगेकाे छ । तीमध्ये २१ हजार २५४ जना भने पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ८० हजार ८२७ जनामा काेराेना सक्रिय रहेकाे छ । ७ हजार १४८ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।
चीनमा भने अहिले १ हजार १३७ जनामा मात्रै काेराेना सक्रिय रहेकाे छ । चीनमा कुल ८२ हजार २९५ जना संक्रमित भएपनि करिब ७८ भने पूर्णरूपमा निकाे भइसकेका छन् ।










प्रतिक्रिया दिनुहोस्