राजनीति

कोरोना प्रभावित देशका एनआरएनका अध्यक्षसँग मन्त्री ज्ञवालीद्वारा संवाद



काठमाडौँ, ९ वैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९)ले बढी प्रभावित देशका गैरआवासीय नेपाली संघ९एनआरएन०का अध्यक्षसँग प्रत्यक्ष संवाद गर्नुभएको छ ।

मन्त्री ज्ञवालीले सोमबार मन्त्रालयबाट विदेशस्थित ११ देशका एनआरएनका अध्यक्षसँग भिडियो कन्फ्रेन्स कलमार्फत कोरोना भाइरसका कारणले बिचल्लीमा परेका नेपाली समुदायको आवाजको सुनुवाइ गर्नुभयो । उहाँले नेपालमा लकडाउनको अवस्था लम्बिँदै गएकाले विदेशमा रहेका नेपाललाई तत्काल नेपाल फर्काउन नसकिएको जानकारी दिनुभयो ।

मन्त्री ज्ञवालीले भन्नुभयो, “विदेशमा अलपत्र नेपालीप्रति सरकार पूर्णरुप जानकार र सचेत छ, हामी अवस्था अनुकूल हुनेबित्तिकै नेपाल फर्काउन प्रक्रिया शुरु गर्छौँ । सरकार वैदेशिक रोजगारीमा रहेका नेपाली मुख्यतया खाडी क्षेत्रका श्रमिकका समस्यालाई तत्काल सम्वोधन गर्ने विषयमा सकरात्मक छ ।’

बैठकमा एनआरएन अन्तरराष्ट्रिय समितिका अध्यक्ष कुमार पन्तले कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले चालेका कदम प्रभावकारी रहेको बताउनुभयो । अध्यक्ष पन्तले भन्नुभयो, ‘विदेशको अनुभवले पनि नेपाल सरकारका निर्णय निकै प्रभावकारी देखिएका छन् । धेरै देशले लकडाउनको निर्णय समयमा गर्न नसक्दा संक्रमण बढेको छ, लकडाउनका लागि नेपाल सरकारले गरेको निर्णय ऐतिहासिक हो ।’ युरोप अमेरिकाका गैरआवासीय नेपालीभन्दा मध्यपूर्वका देशमा वैदेशिक रोजगारीमा रहेका नेपाली ठूलो समस्या रहेको बताउँदै पन्तले भन्नुभयो, ‘नेपाली श्रमिकका लागि नेपाल सरकारले पहल कदमी चाल्नुपर्छ ।’

संघका महासचिव डा हेमराज शर्माले नेपाल सरकारलाई विदेशमा रहेका नेपाली चिकित्सकको विज्ञतालाई अहिलेको कोरोना महामारीमा सदुपयोग गर्न सुझाव दिनुभयो ।

बैठकमा एनआरएन बेलायत, जर्मनी, अमेरिका, इटाली, स्पेन, जापान, संयुक्त अरब इमिरेट्स, फ्रान्स, दक्षिण कोरिया, साउदी अरबलगायत देशका अध्यक्षको सहभागिता थियो ।