काठमाडौँ, १० वैशाख । गृहमन्त्री राम बहादुर थापाले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाएरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि अग्रभागमा रहने सुरक्षा निकायले सरकारले घोषणा गरेको लकडाउनको समयमा नागरिकलाई कुनै समस्या भए तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ ।
गृहमन्त्रालयमा मंगलबार आयोजित प्रहरी वरिष्ठ उपरीक्षकबाट बढुवा भएका १० प्रहरी नायब महानिरीक्षकलाई सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले कोभिड–१९ सङ्क्रमणको जोखिम रहेको वर्तमान अवस्थामा सीमा नाकामा थप कडाइका लागि विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा गृहमन्त्री थापाले भन्नुभयो, ‘सबै प्रदेशको आ–आफ्नै विशेषता छ, त्यसलाई मनन गर्दै काम गर्नुहोस्, प्रदेश सरकारसँग राम्रो समन्वय गर्नुहोस् । राज्यले विश्वास गरेर तपाईंहरूलाई यो जिम्मेवारी प्रदान गरेको छ, जिम्मेवारी इमान्दारीपूर्वक पालन गर्दै सृजनात्मक ढङ्गले काम कारवाही अघि बढाउनुहोस् ।’
हाल नेपाल प्रहरीको प्रदेश नं १ मा डिआइजी ईश्वरबाबु कार्की, प्रदेश नं २ मा धीरजप्रताप सिंह, वाग्मती प्रदेशमा वसन्तकुमार लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश नं ५ मा रवीन्द्रबहादुर धानुक, कर्णाली प्रदेशमा वसन्तकुमार पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ ।










प्रतिक्रिया दिनुहोस्