सम्पादकीय

उपत्यकामा चार वटा स्याटलाइट सिटी बन्ने



काठमाडौं, १० माघ । सरकारले काठमाडौं उपत्यकाको चार ठाउँमा विस्तारित सहर (स्याटलाइट सिटी) निर्माण प्रक्रिया अघि बढाएको छ ।

यसका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले सम्भाव्यता अध्ययन सकिसकेको छ । ‘स्याटलाइट सिटी’ निर्माण गर्न प्राधिकरणले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीका लागि विशेषज्ञ खोजिरहेको छ ।

प्राधिकरणका आयुक्त डा. भाइकाजी तिवारीले डिपिआर निर्माणका लागि विशेषज्ञ छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । तिवारीले माघभित्रै डिपिआर तयार गर्न विशेषज्ञ टोली नियुक्ति गरिसक्ने जानकारी दिए ।

प्राधिकरणका अनुसार पहिलो चरणमा उपत्यकाको दक्षिण–पश्चिमस्थित भैंसेपाटी, खोकना, बुङमती र छम्पीका केही क्षेत्र समेटेर ‘स्याटलाइट सिटी’ निर्माण हुनेछ ।

दोस्रो चरणमा भक्तपुरको बालकोट र गुण्डु गाविस, तेस्रो चरणमा भक्तपुरकै दुवाकोट, चाँगुनारायण क्षेत्र र काठमाडौंको साँखुभन्दा तलको क्षेत्र तथा चौथो चरणमा काठमाडौंको पञ्चेश्वर, साङ्ला र काभ्रेस्थलीलाई समेटेर विस्तारित सहर निर्माण गरिनेछ ।

प्राधिकरणका अनुसार भैंसेपाटी, खोकना, बुङमती र छम्पीका केही क्षेत्रको करिब एक लाख रोपनीमा ‘स्याटलाइट सिटी’ निर्माण हुने नयाँ पत्रिकामा समाचार छ ।